आगामी प्रतिनिधिसभा निर्वाचनका लागि थपिने नयाँ मतदाताको संख्या २ लाख ९ हजार ५५२ जना पुगेको छ। निर्वाचन आयोगका अनुसार मंगलबार मात्रै २३ हजार ६३८ जना नयाँ मतदाता थपिएका छन्।
मंगलबार राति ८ बजे सम्मको विवरणअनुसार नयाँ मतदातामध्ये १ लाख २२ हजार ७४० पुरुष, ८६ हजार ७८५ महिला र २७ अन्य रहेका छन्।
निर्वाचन आयोगले अन्तरिम सरकारले २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन मिति घोषणा गरेपछि असोज ९ गतेदेखि मतदाता नामावली संकलन कार्य सुरु गरेको हो। यो प्रक्रिया कात्तिक ३० गतेसम्म जारी रहनेछ।
आयोगका अनुसार १८ वर्ष पूरा भएका नागरिकता प्राप्त नेपाली नागरिकहरूले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा गएर नाम दर्ता गर्न सक्नेछन्। सार्वजनिक बिदा बाहेक बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सेवा उपलब्ध हुनेछ।
नामावली संकलनका क्रममा विवाह वा बसाइँसराइका कारण ठाउँसारी गर्न चाहने मतदाता र नाममा त्रुटि सच्याउन चाहने नागरिकहरूले पनि आफ्नो विवरण अद्यावधिक गराउन सक्नेछन्।
आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार, सेवाग्राहीको बढ्दो चाप व्यवस्थापन गर्नका लागि दैनिक ८०० भन्दा बढी नाम दर्ता हुने जिल्लामा दुई सिफ्टमा १२ घण्टा सेवा दिने व्यवस्था गरिएको छ।
त्यसका लागि काठमाडौं उपत्यकाका तीन जिल्लामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका १४ जना दर्ता कर्मचारी थप खटाइएका छन्। अन्य जिल्लामा पनि सेवाग्राहीको चापका आधारमा प्रमुख जिल्ला अधिकारीमार्फत थप जनशक्ति खटाउने सम्बन्धी पत्राचार गृह मन्त्रालयमा पठाइएको आयोगले जनाएको छ।