नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ति हुने भएको छ। छनोट समितिले बिहीबार उक्त पदका लागि योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो।
सरकारले निगमको सुधार र दक्ष व्यवस्थापन सुनिश्चित गर्न खुला प्रतिस्पर्धामार्फत महाप्रबन्धक छनोट गर्ने निर्णय गरेको हो। योग्य र अनुभवी व्यक्तिहरूलाई आवेदन दिन आह्वान गरिएको समितिले जनाएको छ।
सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र इच्छुक उम्मेदवारहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिन सक्नेछन्। आवेदन फारम, योग्यता र अनुभवका मापदण्ड, पेस गर्नुपर्ने कागजात, छनोट प्रक्रिया, पारिश्रमिक तथा अन्य विवरण मन्त्रालयको वेबसाइटमा उपलब्ध गराइएको छ।
महाप्रबन्धक छनोटका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा क्याप्टेन कुलबहादुर लिम्बु र मन्त्रालयका योजना तथा प्रशासन महाशाखाका प्रमुख सहसचिव सदस्य रहेका छन्।