सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन निर्धारण गरिएको मितिमै हुने विश्वास व्यक्त गरेका छन्। दक्षिण कोरियामा रहेका नेपाली पत्रकारसँग नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले गरेको साक्षात्कारमा मन्त्री खरेलले निर्वाचनका लागि आवश्यक सबै वातावरण तयार भइसकेको बताए।
उनका अनुसार भयरहित मतदानका लागि सुरक्षा व्यवस्थामा पनि पर्याप्त तयारी भएको छ। नेपाल प्रहरीमा नयाँ नेतृत्व आएसँगै सुरक्षा संयन्त्र थप मजबुत बनेको बताउँदै उनले भने, “कुनै पनि राजनीतिक दलले निर्वाचनमा नआउने बताएका छैनन्। केही दलले सुरक्षाका विषयमा चासो मात्र देखाएका छन्।”
सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले निर्वाचन, सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारी प्रवर्द्धन अन्तरिम सरकारका प्रमुख प्राथमिकता रहेको स्पष्ट पारे। जेन्जी आन्दोलनको भावनाअनुरूप बनेको अन्तरिम सरकार सुधारको बाटोमा अघि बढिरहेको उनले बताए।
मन्त्री खरेलले एआई र डिजिटल ट्रान्सफर्मेसन नेपालको भविष्यका महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै कोरियामा प्राप्त ज्ञान र प्रविधि अनुभवले नेपाललाई सहयोग गर्ने विश्वास व्यक्त गरे। नेपालले राष्ट्रिय एआई केन्द्र गठन गरिसकेको उल्लेख गर्दै उनले यो क्षेत्रमा दक्षिण कोरियाबाट थप सहयोगको अपेक्षा गरेको बताए।
उनले विदेशमा रहेका नेपालीलाई मतदाता अधिकार सुनिश्चित गर्न कानुनी प्रक्रिया अघि बढाइएको खुलासा गरे। “अध्यादेशमार्फत भए पनि विदेशमै बसेर नेपालीले मतदान गर्न पाउने व्यवस्था गरिन्छ,” मन्त्री खरेलले भने।
यस्तै, उनले नेपाल वायुसेवा निगमको दक्षिण कोरियासँगको सिधा हवाई उडान सञ्चालनका लागि आवश्यक पहल गरिने पनि बताए। कार्यक्रमका सहभागीहरूले ऊर्जा, पर्यटनलगायत क्षेत्रमा लगानी भित्र्याउने वातावरण निर्माण गर्न सरकारलाई सुझाव दिएका थिए। उनीहरूले सुशासन, भ्रष्टाचार नियन्त्रण तथा जेन्जीका माग कार्यान्वयनमा प्रभावकारी पहल गर्नुपर्ने आवश्यकता औँल्याए।
दक्षिण कोरियामा रोजगारी, अध्ययन तथा व्यापारमा झन्डै एक लाख नेपाली रहेका छन्। मन्त्री खरेल ११ औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा भाग लिन कात्तिक २५ गते दक्षिण कोरिया प्रस्थान गरेका थिए, जहाँ उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन्।