निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गरिने

  • प्रकाशित मिति : २०८२ मंसिर १, सोमबार
  • नेपाल टेल संवाददाता

आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित, शान्त र व्यवस्थित रूपले सम्पन्न गराउन सरकारले व्यापक सुरक्षा तयारी सुरु गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको छ। यससँगै निर्वाचन सुरक्षाका लागि कुल ३ लाख १४ हजार सुरक्षाकर्मी खटिने भएका छन्।

गृह मन्त्रालयका अनुसार निर्वाचन सुरक्षामा नेपाली सेनाका करिब ७९ हजार, नेपाल प्रहरीका ७२ हजार, सशस्त्र प्रहरी बलका ३३ हजार र १ लाख ३० हजार म्यादी प्रहरी परिचालन गरिनेछ। मतदानस्थल र मतदान केन्द्रको अन्तिम सूची आएपछि सुरक्षाकर्मी संख्यामा सानो फेरबदल सम्भव भए तापनि हालका लागि ‘एकीकृत सुरक्षा योजना–२०८२’ अन्तर्गत सवा तीन लाख सुरक्षाकर्मी परिचालनको तयारी पूरा भएको मन्त्रालयले जनाएको छ।



गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सामना गरिएका चुनौती र बदलिँदो सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै यो कार्ययोजना तयार गरिएको बताए। सुरक्षा समिति बैठकले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीलाई समन्वित रूपमा परिचालन गर्ने निर्णय गरेको छ।

सेना परिचालनका लागि संवैधानिक प्रक्रिया सुरू
कार्ययोजना स्वीकृत भएसँगै नेपाली सेना परिचालनका लागि संवैधानिक प्रक्रिया अघि बढ्नेछ। राष्ट्रिय सुरक्षा परिषद्ले प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रिपरिषद् समक्ष सेना परिचालनको सिफारिस गर्नेछ। मन्त्रिपरिषद्को अनुमोदन र राष्ट्रपतिको स्वीकृतिपछि सेना औपचारिक रूपमा निर्वाचन सुरक्षामा खटाइनेछ।

सुरक्षा परिचालनको तालिका
निर्वाचन लक्षित सुरक्षा परिचालन मंसिर १० गतेदेखि सुरु हुनेछ। हाल नेपाली सेनामा करिब एक लाख, नेपाल प्रहरीमा ८० हजार र सशस्त्र प्रहरीमा ३७ हजार जति सुरक्षाकर्मी कार्यरत छन्।

साथै, भदौ २४ मा लुटिएका हतियार र फरार कैदीबन्दीलाई नियन्त्रणमा लिन संयुक्त सुरक्षा अपरेशन सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ। सरकारको यो निर्णय शान्ति–सुरक्षा मजबुत गर्न प्रतिबद्धताको संकेतका रूपमा लिइएको छ।