नेकपा एमालेका कार्यकर्तासँग भएको झडपपछि आक्रोशित समूहले बाराको सिमरा विमानस्थलको मुख्य गेट भत्काएको छ। विमानस्थलको प्रवेशद्वार बाहिर जम्मा भएका युवाहरूले गेट धकेल्न थालेपछि भित्र तैनाथ दुई प्रहरीसमेत रोक्न नसकी गेट भाँचिएको थियो, जसको फलामे भाग प्रहरीमाथि नै खसेको थियो।
गेट भत्किएपछि केही युवाहरू विमानस्थलभित्र पसे पनि प्रहरीले केहीबेरमै उनीहरूलाई बाहिर निकाल्यो। आज परवानीपुरमा आयोजित युवा संघको कार्यक्रममा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल र महेश बस्नेतसहितको टोली सिमरा आउँदैछ भन्ने सूचना सार्वजनिक भएपछि अवस्था झन् तनावग्रस्त बनेको हो।
यसअघि सिमरा बजार क्षेत्रमा स्थानीय युवाहरू र एमाले कार्यकर्ताबीच वादविवाद हुँदै झडप भएको थियो। स्थिति नियन्त्रणबाहिर जान थालेपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरी विमानस्थल आसपासको क्षेत्रमा सुरक्षा कडाइ गरेको छ।