सञ्चारगृह डटकम सार्वजनिक, प्रीति–युनिकोड रूपान्तरणमा नयाँ समाधान

  • प्रकाशित मिति : २०८२ मंसिर ८, सोमबार
  • नेपाल टेल संवाददाता

नेपालीमा लेख्ने, पढ्ने तथा रूपान्तरण गर्नेहरूका लागि नयाँ वेब प्लेटफर्म ‘सञ्चारगृह डटकम’ सार्वजनिक गरिएको छ।

यो प्लेटफर्ममार्फत प्रयोगकर्ताले प्रीति टु युनिकोड, युनिकोड टु प्रीति, साथै रोमनाइज्ड नेपाली लेख्ने र रूपान्तरण गर्ने सुविधा सहजै उपयोग गर्न सक्नेछन्।



विकासकर्ताका अनुसार, अरू कनभर्टरभन्दा यसलाई फरक र उपयोगी बनाउन युजर एक्सपिरियन्स (UX) तथा युजर इन्टरफेस (UI) मा विशेष ध्यान दिइएको छ। प्लेटफर्ममा उपलब्ध कनभर्टरलाई जुनसुकै वेबसाइटमा निःशुल्क समावेश गर्न सकिने सुविधा पनि छ।

सञ्चारगृहका प्रमुख शम्भु ढुंगानाका अनुसार यो प्लेटफर्म विशेषगरी पत्रकार, सम्पादक, अनुवादक र प्रकाशन गृहका लागि निकै उपयोगी छ। समाचार सम्पादन, पुस्तक प्रकाशन र अनुसन्धान कार्यमा प्रीति–युनिकोड रूपान्तरणले धेरै समय लाग्ने गरेकामा सञ्चारगृह डटकमले छिटो र सजिलो समाधान दिने दाबी विकासकर्ताले गरेका छन्।

प्लेटफर्मलाई मोबाइलमैत्री ढंगले निर्माण गरिएको छ।

विकास टोलीले निकट भविष्यमा स्पेल चेकर, व्याकरण सजेसन, प्रत्यक्ष नेपाली टाइपिङ टुल र बहुभाषिक कन्भर्टर थप गर्ने योजना बनाएको जनाएको छ।