एसीसी यू–१९ प्रिमियर कपमा नेपाल उपविजेतामै सीमित

  • प्रकाशित मिति : २०८२ मंसिर १६, मंगलवार
  • नेपाल टेल संवाददाता

एसीसी यू–१९ प्रिमियर कपको नेपाल उपविजेतामा सीमित भएको छ । फाइनल खेलमा घरेलु टोली युएइसँग २७ रनले पराजित भएपछि नेपाल उपविजेतामा सीमित भएको हो ।

१४८ रनको लक्ष्य लिएर मैदानमा उत्रेको नेपाली टोली ३३ ओभर २ बल खेल्दा सबै विकेट गुमाएर १२० रनमा सीमित भयो । नेपालका लागि विकेट किपर आशिस लोहारले २५, कप्तान अशोक धामीले ३४, भान्स क्षेत्रीले र रोशन विश्वकर्माले २५ रनको योगदान दिनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।



त्यसअघि घरेलु टोली ४५ ओभर ५ बलमा १४७ रनमा अलआउट भएको थियो । युएईलाई सस्तोमा समेट्न नेपालका दयानन्द मण्डलले सर्वाधिक ६ विकेट लिए । उनले ६ ओभर ५ बलमा १७ रन खर्चेर ६ विकेट लिए ।

अपराजित पौडेल २ तथा नितेज पटेल र अशोक धामीले एक–एक विकेट लिए । ब्याटिङमा युएईका अहमद खुदाददले सर्वाधिक ७१ रन बनाए । नुरुउल्ला आयोबीले २६ रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन् ।