मतदाता नामावलीको त्रुटि मंसिर २६ सम्म सच्याउन सकिने

  • प्रकाशित मिति : २०८२ मंसिर २३, मंगलवार
  • नेपाल टेल संवाददाता

निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन मंसिर २६ गतेसम्म निवेदन दिन सबै मतदातालाई आग्रह गरेको छ। आयोगले सोमबार विज्ञप्ति जारी गर्दै अनलाइन प्रणालीमार्फत नामावलीमा सुधार गर्न, सूचना बुझाउन र उजुरी दर्ता गर्न सबै सरोकारवालाको सक्रिय सहभागिता सुनिश्चित गर्न अपिल गरेको हो।

साथै आयोगले केही मतदानस्थलको पुनरावलोकन गरेपछि मतदातालाई आफ्नो वडाभित्र रहेका मतदानस्थलमध्ये आफूलाई सुविधाजनक हुने मतदानस्थल छनोट गर्न निर्देशन दिएको छ। इच्छुक मतदाताले अनलाइन प्रणाली वा प्रदेश/जिल्ला निर्वाचन कार्यालयमार्फत आफ्नो मतदानस्थल परिवर्तनका लागि निवेदन दिन सक्नेछन्।

निर्वाचन आयोगले समयमै निवेदन दिई नामावलीमा सुधार गर्न सबै मतदातालाई सचेत रहन र मतदानको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ।