सरकार सुशासनका लागि बनेको हो, भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न तयार : प्रधानमन्त्री कार्की

  • प्रकाशित मिति : २०८२ मंसिर २३, मंगलवार
  • नेपाल टेल संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार केवल चुनाव व्यवस्थापनका लागि बनेको नभई सुशासन सुनिश्चित गर्न गठन गरिएको सरकार भएको स्पष्ट गरेकी छन्। उनले भ्रष्टाचारविरुद्ध आवश्यक परे जुनसुकै हदसम्म कठोर कदम चाल्न सरकार तयार रहेको चेतावनीसमेत दिएकी छन्।

भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकारले नियमित कामसँगै सुशासनका एजेन्डामा तीव्र गतिमा अघि बढिरहेको बताइन्।



‘यो सरकार चुनावी मात्रै होइन। सुशासनको मागसहित भएको जेनजी आन्दोलनको जगमा बनेको सरकार हो,’ उनले भनिन्, ‘जेनजीका माग र अपेक्षाअनुसारका उपलब्धि हासिल हुन समय लाग्ला, तर भ्रष्टाचारविरुद्ध जुनसुकै कठोर कदम चाल्न सरकार पछि हट्ने छैन।’

उनका अनुसार भ्रष्टाचारविरुद्ध राज्यका संयन्त्र सक्रिय भइसकेका छन्। त्यति मात्र नभई, यस दिशामा हुने धम्की वा दबाबबाट सरकार नडराउने स्पष्ट गर्दै उनले भनिन्, ‘कदमले अत्तालिएर कतिपय तत्वले धम्क्याए पनि हामी विचलित हुँदैनौँ।’

प्रधानमन्त्री कार्कीले सम्बन्धित निकायका पदाधिकारी तथा राष्ट्रसेवकहरूलाई पनि कुनै दबाबमा नपरी व्यावसायिक स्वतन्त्रता र निर्भीकतासाथ काम गर्न आग्रह गरिन्।