प्रधानमन्त्री सुशीला कार्की ले युवाको आक्रोश र असन्तुष्टिलाई दमन गरेर मुलुकमा समृद्धि सम्भव नहुने बताएकी छन् । ७६ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बिहीबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरूलाई आत्मसमीक्षा गर्न आग्रह गरिन् ।
प्रधानमन्त्री कार्कीले मुलुकमा पटक–पटक आन्दोलन दोहोरिनु राजनीतिक नेतृत्वको असफलताको संकेत भएको उल्लेख गर्दै त्यसका कारणबारे दलहरूले गम्भीर समीक्षा गर्नुपर्ने बताइन् । २००७ सालको क्रान्तिपछि सात दशक लामो राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तरमा अपेक्षित सुधार हुन नसकेको उनले स्वीकार गरिन् ।
भदौ २३ र २४ गते भएको युवा आन्दोलनलाई उनले “असफल संरचनाविरुद्ध उठेको प्रश्न” को संज्ञा दिँदै आन्दोलनले उठाएका भ्रष्टाचार अन्त्य, नातावाद नियन्त्रण र विभेद अन्त्यका मागहरू जायज रहेको बताइन् । राज्य जनताप्रति उत्तरदायी र विनयशील बन्नुपर्ने उनको भनाइ थियो ।
प्रजातन्त्र नागरिकको दैनिक जीवनसँग जोडिन नसकेसम्म यसको सार्थकता स्थापित नहुने उल्लेख गर्दै उनले महँगी, बेरोजगारी र वैदेशिक रोजगारीमा निर्भर परिवारको समस्यालाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताइन् ।
वर्तमान सरकार युवा आन्दोलनको पृष्ठभूमिमा बनेको स्मरण गराउँदै उनले सुशासन, पारदर्शिता र छिटो निर्वाचन गराउने वातावरण तयार पार्नु सरकारको मुख्य प्राथमिकता रहेको स्पष्ट पारिन्। युवालाई बेवास्ता गरे पुनः आन्दोलन हुने चेतावनी दिँदै उनले युवाको असन्तुष्टिलाई परिवर्तनको शक्तिका रूपमा लिनुपर्ने धारणा व्यक्त गरिन् ।
बजेट वितरणमा हुने मनपरी, समानुपातिक प्रणालीको दुरुपयोग तथा रोजगारीमा हुने पक्षपात अन्त्य नभएसम्म लोकतन्त्र बलियो नहुने उनको भनाइ थियो । प्रक्रियामुखी प्रशासनिक ढिलासुस्तीलाई उनले ‘बेथिति’ भन्दै तत्काल परिणाममुखी काम गर्न सरकारी संयन्त्रलाई निर्देशन दिइन् ।