जेन–जी आन्दोलनको क्रममा ‘तिब्बतीयन ओरिजनल ब्लड (TOB)’ उल्लेखित ज्याकेट लगाएर प्रदर्शनमा सहभागी भएका तेन्जिङ दावा ५ लाख २० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।
काठमाडौं प्रहरीद्वारा तीन फरक अभियोगमा पक्राउ परेका दावालाई धरौटीमा रिहा गर्न जिल्ला अदालतले आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
तेन्जिङ दावामाथि अभद्र व्यवहार, लिखतसम्बन्धी कसुर तथा नागरिकता–राहदानीसम्बन्धी आरोपमा मुद्दा दर्ता भएको थियो। प्रहरीका अनुसार उनको साथबाट गाँजा समेत बरामद गरिएको थियो। साथै TOB समूहसँग जोडिएका १३ वटा बुलेट मोटरसाइकल र एक पल्सर बाइक प्रहरीले नियन्त्रणमा राखेको छ।
प्रहरीका अनुसार भदौ २३ गते दिउँसो बिजुलीबजार क्षेत्रमा मोटरसाइकल पड्काउँदै नारा जुलुस गरेका दावाले भीडलाई उत्तेजित गर्ने कार्य गरेका थिए। प्रारम्भिक अनुसन्धानमा उनी आधा तिब्बेतियन भएको बताइएका छन् भने समूहमा रहेका अन्य सदस्य भने नेपाली मूलका रहेको खुलेको छ।
हिरासतमा रहेका दावाले आफूले भीडलाई उत्तेजित गर्ने गल्ती गरेको स्वीकारेको प्रहरीको दाबी छ।