चुनाव केन्द्रित परिचानलका लागि सशस्त्र प्रहरी तयार, सुरक्षाको दोस्रो घेरामा रहने

  • प्रकाशित मिति : २०८२ मंसिर २६, शुक्रबार
  • नेपाल टेल संवाददाता

सशस्त्र प्रहरी बल नेपालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि पारदर्शी, निष्पक्ष र भयरहित वातावरण सुनिश्चित गर्ने उद्देश्यसहित विशेष सुरक्षा परिचालन नीति सार्वजनिक गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी बलका सूचना अधिकारी एवं प्रवक्ता डीआइजी मनिष थापाले निर्वाचन सुरक्षाका लागि तयार गरिएको विस्तृत नीतिगत खाका सार्वजनिक गर्दै आवश्यक जनशक्ति, तालिम, उपकरण र परिचालन रणनीति तयार रहेको बताए ।



उनका अनुसार निर्वाचन अवधिभर सशस्त्र प्रहरीबल दोस्रो सुरक्षा घेरामा रहेर अन्य सुरक्षा निकायसँग समन्वयात्मक ढंगले खटिनेछ । त्यसका लागि प्रदेशगत तथा जिल्लागत सुरक्षा नक्सा तयार पारिएको छ, जहाँ संवेदनशील तथा रणनीतिक स्थानहरूलाई विशेष चिन्हांकन गरिएको छ ।

सशस्त्र प्रहरीले निर्वाचन सुरक्षामा खटिने आफ्ना सबै अधिकृत तथा जवानलाई विशेष ‘निर्वाचन सुरक्षा अनुशिक्षण तालिम’ अनिवार्य रूपमा दिने निर्णय गरेको छ । आवश्यक बन्दोबस्तीका सामग्री तथा सवारीसाधनसहित एक महिना अघिदेखि नै तैनाथी सुरु हुने बताइएको छ।

यस्तै, क्युआरटी (क्विक रिस्पोन्स टिम) मा रहेका जनशक्तिलाई निर्वाचनको एक दिन अगाडीदेखि एक दिनपछि सम्म हातहतियारसहित रणनीतिक स्थानमा सवारीसाधनसहित परिचालन गरिनेछ ।

सम्मेलनमा सशस्त्र प्रहरी बलले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व संकलन सहयोग तथा विपद् व्यवस्थापनमा हालसम्म गरेको कार्यसम्बन्धी विवरण पनि प्रस्तुत गरेको थियो ।