सामाजिक सञ्जालमार्फत भारतीय व्यक्तिसँग प्रेम सम्बन्ध भएको आधारमा विवाह गर्न भारत जाने नेपाली युवतीको सङ्ख्या बढ्दै जाँदा मानव बेचबिखनको जोखिम गम्भीर बन्दै गएको छ । परिवारलाई जानकारी नदिई भागेर भारत जाने यस्ता घटनाले महिलालाई उच्च जोखिममा पारिरहेको सरोकारवालाले औँल्याएका छन् ।
हालै भारतको सिम्लातर्फ जाँदै गरेका दाङ र अर्घाखाँचीका दुई युवतीलाई नेपालगन्जस्थित जमुनाह नाकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील शान्ति पुनःस्थापना केन्द्रका प्रतिनिधिले रोकेर परामर्श गरेका थिए । चार दिनअघि गरिएको सो परामर्शका क्रममा सामाजिक सञ्जालमै प्रेम सम्बन्ध गाँसी भारतीय नागरिकसँग विवाह गर्न युवतीहरू भागेर भारत जान लागेको तथ्य खुलेको हो ।
शान्ति पुनःस्थापना केन्द्र शाखा कार्यालय नेपालगन्जकी संयोजक सम्झना चँदाराका अनुसार उद्धार गरिएकामध्ये दाङकी एक युवती १५ वर्षकी नाबालिका हुन् भने अर्घाखाँचीकी युवती २२ वर्षकी छन् । उनीहरू सामाजिक सञ्जालमै चिनजान भएपछि अभिभावकलाई थाहै नदिई विवाहका लागि भारततर्फ लागेका थिए ।
संयोजक चँदाराले पछिल्लो समय सामाजिक सञ्जालकै भरमा अभिभावकको जानकारीबिना भारतीय नागरिकसँग विवाह गर्न जाने युवतीको सङ्ख्या बढ्नु चिन्ताजनक रहेको बताइन् । “सामाजिक सञ्जालमा कुराकानी भएकै आधारमा भारतीय नागरिकसँग विवाह गर्न राजी हुनु आफैँमा ठूलो जोखिम हो,” उनले भनिन् ।
केन्द्रको पहलमा दाङकी नाबालिकालाई अभिभावकसँग सम्पर्क गरी पारिवारिक पुनर्मिलन गराइसकिएको छ भने अर्घाखाँचीकी युवतीलाई पनि अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका महिला, बालबालिका तथा नागरिक शाखा प्रमुख पवित्राकुमारी पुरीले भारतीय नागरिकसँग विवाह गराउने कार्यमा कतिपय नेपाली महिलाले नै समन्वयकारी भूमिका खेल्ने गरेको पाइएको बताइन् । “भारतीय नागरिकसँग विवाह गरिसकेका महिलामार्फत नेपालका चिनेजानेका युवती सामाजिक सञ्जालमा जोडिने गरेका छन्,” उनले भनिन्, “युवती भारत पुगेपछि समन्वय गर्ने नेपाली महिलाले आर्थिक लाभ लिने भएकाले यस्तो समस्या बढ्दै गएको छ ।” आर्थिक लाभका लागि आफ्नै देशका चेलीलाई जोखिममा पार्ने प्रवृत्ति गम्भीर रहेको उनको भनाइ छ ।
इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी इञ्चार्ज एवं प्रहरी निरीक्षक किरण प्रकाश मल्लले सामाजिक सञ्जालको भरमा घरबाट भागेर भारत जाने महिला उच्च बेचबिखन जोखिममा पर्ने भएकाले सबै सचेत हुनुपर्ने बताए । उनले बेचबिखनविरुद्ध क्रियाशील सङ्घसंस्थाको सहकार्यले जोखिममा परेका महिला तथा बालबालिकाको उद्धार र पारिवारिक पुनर्मिलनमा सहयोग पुगेको उल्लेख गरे । उनका अनुसार दलालले विशेषगरी आर्थिक रूपमा कमजोर र पारिवारिक समस्यामा रहेका महिलालाई लक्षित गर्ने गरेका छन् ।
शान्ति पुनःस्थापना केन्द्रका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईले सामाजिक सञ्जालमा देखिने क्षणिक आकर्षण र प्रलोभनले यस्तो जोखिम बढाएको भन्दै सीमा नाकामा निगरानी र सचेतनाका कार्यक्रम थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले भारतीय सहरमा बेचिएका वा अलपत्र अवस्थामा रहेका नेपाली महिलालाई त्यहाँका सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा उद्धार गर्दै आएको जानकारी दिए ।
जमुनाह नाकामा शान्ति पुनःस्थापना गृह, माइती नेपाल, साथी संस्थालगायत करिब एक दर्जन सङ्घसंस्था मानव बेचबिखनविरुद्ध क्रियाशील छन् । शान्ति पुनःस्थापना केन्द्रले मात्र गत आर्थिक वर्षमा ३९९ जनाको उद्धार गरेको थियो । तीमध्ये ३०३ जनालाई सिधै अभिभावकको जिम्मा लगाइएको र ९५ जनालाई प्रहरीमार्फत परिवारको सम्पर्कमा पुर्याइएको केन्द्रले जनाएको छ ।
हाल शान्ति पुनःस्थापना गृहले बाँकेको नरैनापुर, डुडुवा, जानकी, कोहलपुर र जमुनाह गरी पाँच स्थानमा सूचना तथा परामर्श केन्द्र सञ्चालन गर्दै मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यक्रम अघि बढाइरहेको छ ।