यू-१९ एसिया कप क्रिकेटमा नेपालको यात्रा निराशाजनक रूपमा समाप्त भएको छ। समूह चरणमा तीनवटै टेस्ट राष्ट्रसँग प्रतिस्पर्धा गरेको नेपालले कुनै पनि खेलमा प्रभाव छोड्न सकेन र तीनै पटक फराकिलो हार व्यहोर्नुपर्यो।
उमेर समूह क्रिकेटमा नेपालले विगतमा टेस्ट राष्ट्रलाई पराजित गर्दै अन्तर्राष्ट्रिय पहिचान बनाएको इतिहास छ। तर, यसपटकको एसिया कपमा भने नेपाल कुनै पनि टोलीलाई गम्भीर चुनौती दिन असफल रह्यो। प्रतियोगिताले नेपाली उमेर समूह क्रिकेटको स्तर खस्किँदै गएको संकेत गरेको विश्लेषण गरिएको छ।
दुर्भाग्यवश नेपालले तीनै खेलमा टस हारेर पहिले ब्याटिङ गर्नुपर्यो। पहिलो खेलमा श्रीलंकाविरुद्ध नेपाल ८२ रनमै अलआउट भयो, जसमा १९ रन अतिरिक्त थिए। कुनै पनि नेपाली ब्याटरले २० रनको आँकडा पार गर्न सकेनन् भने ६ जना दोहोरो अंकमा समेत पुग्न सकेनन्। श्रीलंकाले ८२ रनको लक्ष्य १४.५ ओभरमै दुई विकेट गुमाउँदै पूरा गर्यो।
दोस्रो खेलमा बंगलादेशविरुद्ध पनि अवस्था उस्तै रह्यो। नेपालले ३१.१ ओभरमा १३० रन बनाउँदा २३ रन अतिरिक्तका रूपमा प्राप्त गरेको थियो। जवाफमा बंगलादेशका ओपनर जवाद अब्रारले ७० रनको आक्रामक पारी खेल्दै २४.५ ओभरमै ७ विकेटको सहज जित दिलाए।
तेस्रो तथा अन्तिम खेलमा पनि नेपालको नियति फेरिएन। अफगानिस्तानविरुद्ध नेपाल ४६.४ ओभर खेल्दै १२४ रनमै समेटियो। लामो समय क्रिजमा टिके पनि नेपाली ब्याटरहरूले आक्रामकता देखाउन सकेनन् र रनरेट २.६५ मा सीमित रह्यो। अफगानिस्तानले १२५ रनको लक्ष्य २६.५ ओभरमै ४ विकेट गुमाएर भेट्टायो। नेपालका तर्फबाट अभिशेक तिवारीले २ विकेट र चन्दन रामले १ विकेट लिए।
समग्रमा यो प्रतियोगिता नेपालका लागि निराशाजनक रह्यो। न ब्याटिङमा न बलिङमै कुनै सन्तोषजनक प्रदर्शन देखियो। कुनै पनि नेपाली खेलाडीले उल्लेखनीय छाप छोड्न सकेनन् र नेपाल समूहको अंकतालिकाको पुछारमा रहँदै यू–१९ एसिया कपबाट बाहिरियो।