बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ कायम गरिएको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँले बढी हो । बुधबार प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन यसअघि गत सोमबार हालसम्मकै उच्च विन्दुमा पुग्दै प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँको रेकर्ड बनाएको थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि हुँदै नयाँ रेकर्ड कायम भएको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदीले लगातार दोस्रो दिन उच्च मूल्यको रेकर्ड बनाएको हो ।
पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको उतारचढावको असर नेपाली बजारमा देखिँदा सुनचाँदीको मूल्य निरन्तर उकालो लागिरहेको व्यवसायीहरूको भनाइ छ ।