रास्वपाबाट समानुपातिक उम्मेदवार बन्न समीक्षा बाँस्कोटा र रञ्जु दर्शनाको आवेदन

  • प्रकाशित मिति : २०८२ पुष ४, शुक्रबार
  • नेपाल टेल संवाददाता

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष समीक्षा बाँस्कोटा र पूर्व महासचिव रञ्जु दर्शनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक उम्मेदवारका लागि आवेदन दिएका छन्।

रास्वपा र विवेकशील साझा पार्टीबीच १४ मंसिरमा एकता भएको भए पनि विवेकशील साझाबाट आएका नेताहरू हालसम्म रास्वपाको केन्द्रीय समितिमा समेटिएका छैनन्। आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बाँस्कोटा र दर्शनाले समानुपातिकतर्फ उम्मेदवार बन्न इच्छुकता देखाएका हुन्।



दुवैले खस–आर्य क्लस्टरअन्तर्गत बागमती प्रदेशबाट समानुपातिक उम्मेदवारका लागि नाम दर्ता गराएका छन्। रास्वपाले समानुपातिक उम्मेदवार हुन इच्छुक व्यक्तिलाई अनलाइनमार्फत आवेदन दिन आह्वान गरेको थियो।

पार्टीले गएराति समानुपातिकतर्फ उम्मेदवारका इच्छुकहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। रास्वपाका अनुसार समानुपातिकतर्फको अन्तिम नामावली १४ पुसमा सार्वजनिक गरिनेछ।