समाजसेवी स्वर्गीय ओमप्रकाश गोयलको नाममा हुलाक टिकट सार्वजनिक गरिएको छ।
हुलाक सेवा विभागद्वारा आयोजित कार्यक्रममा गोयलको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्दै सरकारले उक्त हुलाक टिकट सार्वजनिक गरेको हो। टाँचा प्रदान कार्यक्रममा उपसभामुख इन्दिरा राना र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले स्वर्गीय गोयलको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले गोयलको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नु ऐतिहासिक क्षण भएको बताए। उनले भने, “अध्यात्मले भन्छ—भौतिक शरीर रहँदैन, आत्मा सधैं रहन्छ। म एउटा कुरा थप्न चाहन्छु, मान्छे कर्मले सधैं अमर रहन्छ।”
मन्त्री खरेलले थपे, “आज ओमप्रकाश गोयल हाम्रो यो हुलाक टिकटमार्फत अमर हुनुभएको छ। यो हुलाक टिकट ऐतिहासिक छ, जसले नेपाल र नेपालीमाझ उहाँलाई सधैं जीवित राख्नेछ।”
स्वर्गीय गोयलको योगदानको कदर गर्दै उनको सम्मान देशकै तर्फबाट हुनुपर्ने मन्त्री खरेलको भनाइ थियो।