जेनजी आन्दोलनसम्बन्धी आयोगमा पूर्वगृहमन्त्री रमेश लेखकको बयान

  • प्रकाशित मिति : २०८२ पुष १४, सोमबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनपछि गठित जाँचबुझ आयोगमा बयान दिन उपस्थित भएका छन्। सोमबार लेखक आयोगमा पुगेर आफ्नो बयान दिएका हुन्।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका समयमा लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए। सोही घटनाका क्रममा भएका गतिविधि र तत्कालीन सरकारबाट गरिएका निर्णय तथा कारबाहीबारे स्पष्ट पार्न आयोगले उनलाई बयानका लागि पत्राचार गरेको थियो।



आयोगले यसअघि नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई स्थान हद तथा विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको थियो, जुन रोक हालसम्म कायम छ।

यसअघि आयोगले तत्कालीन सुरक्षा निकायका प्रमुख, मुख्यसचिवलगायत उच्च पदस्थ अधिकारीहरूसँग बयान लिइसकेको छ।

भदौ २३–२४ मा भएका घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न सरकारले पूर्वन्यायाधीश गौरिबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको हो।