उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत चर्चित गायिका तथा चिकित्सक डा. त्रिशला गुरुङलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
पार्टीले स्वास्थ्य क्षेत्र सुधार, समावेशी राजनीति र पेशागत दक्षतालाई आधार मानेर डा. गुरुङलाई समानुपातिक उम्मेदवारको सूचीमा अघि सारेको जनाएको छ। उज्यालो नेपाल पार्टीका अनुसार हालको स्वास्थ्य प्रणालीमा असमान पहुँच, उपचार खर्चको तीव्र वृद्धि, ग्रामीण क्षेत्रमा स्वास्थ्य जनशक्तिको अभाव तथा स्वास्थ्य बजेटको प्रभावकारी कार्यान्वयन नहुनु जस्ता समस्या प्रमुख चुनौतीका रूपमा रहेका छन्।
डा. गुरुङको चिकित्सकीय अनुभव र नीतिगत बुझाइले संसदमा यी विषयमा व्यवहारिक तथा प्रमाणमा आधारित बहस अघि बढाउन सहयोग पुग्ने विश्वास पार्टीले व्यक्त गरेको छ। साथै, एक स्थापित गायिकाका रूपमा उनले कला र संस्कृतिमार्फत सामाजिक चेतना अभिवृद्धि गर्दै आएको भन्दै स्वास्थ्य र सांस्कृतिक चेतनालाई जोड्ने उनको बहुआयामिक पहिचानले संसदमा फरक र प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्ने पार्टीको धारणा छ।
समानुपातिक उम्मेदवारमा सिफारिस भएसँगै डा. गुरुङले “स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार हो” भन्ने मूल्यमान्यतालाई केन्द्रमा राखेर सुशासन, समावेशी नीति निर्माण र जनउत्तरदायी स्वास्थ्य प्रणालीका लागि संसदमा दृढ रूपमा आवाज उठाउने प्रतिबद्धता जनाएकी छन्।