टुँडिखेलमा तमु ल्होसारको रौनक (तस्बिरहरु)

  • प्रकाशित मिति : २०८२ पुष १५, मंगलवार
  • नेपाल टेल संवाददाता

गुरुङ समुदायको मुख्य चाड तमु ल्होसार आज विभिन्न कार्यक्रम गरी धुमधामले मनाइएको छ । गुरुङ समुदायले आज पुरानो वर्षलाई विदा गरी नयाँ वर्षलाई स्वागत गर्दै तमु ल्होसार मनाएका हुन् ।

तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् ।



यस दिन हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ समुदायको बाहुल्य रहेको ठाउँमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले पनि टुँडिखेलमा विशेष समारोहकाबीच यो पर्व मनाएका छन् । काठमाडौं बसोबास गर्ने विभिन्न जिल्लाका गुरुङ समुदायका बालबालिका महिला पुरुषहरुले आफ्नाे पहिचान झल्कने भेषभुषा, परम्परागत सामानहरुको प्रदर्शन गर्दै बसन्तपुरमा भेला भएर बसन्तपुरबाट र्‍याली निकालेर टुँडिखेलतर्फ प्रस्थान गरेका छन् ।

पर्वको अवसरमा टुँडिखेलमा सांस्कृतिक कार्यक्रमका साथै गुरुङ समुदायका परिकारको समेत प्रदर्शनी गरिन्छ । उनीहरु आफनो भेषभुषामा सजिएर विभिन्न नाँचहरु प्रस्तुत गरिरहेका छन् । सरकारले तमु ल्होसारको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।