कांग्रेस विशेष महाधिवेशन भन्दै भृकुटीमण्डपमा हल बुकिङ ?

  • प्रकाशित मिति : २०८२ पुष १७, बिहीबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गर्न भन्दै हल बुकिङ गराएका छन् । पुस २७ र २८ लाई भृकुटीमण्डपको हल बुकिङ गरिएको केन्द्रीय सदस्य प्रतिमा गौतमले बताइन् ।

नियमित महाधिवेशनको सम्भावना सकिएपछि पार्टी स्वतः विशेष महाधिवेशनतिर अघि बढेको उनले बताइन् ।



केन्द्रीय समितिले ल्याएको १५ औं महाधिवेशन कार्यतालिकाअनुसार हिजो वडा र आज पालिका अधिवेशन गरिने भने पनि नभएकोले अब विशेष महाधिवेशन गर्न लागिएको र त्यसका लागि हल बुकिङ गरिएको गौतमले जानकारी दिइन् ।

स्रोतका अनुसार कांग्रेस विशेष महाधिवेशन आयोजक समितिको नाममा काठमाडौंस्थित एक ठूलो हल बुक गरिएको छ। आगामी २७ र २८ गते दुई दिनसम्म सञ्चालन गर्ने गरी हल भाडामा लिइएको हो। हल, त्यससँगै प्रयोग गरिने बगैँचा तथा पार्किङ स्थलको शुल्कसहित करिब ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

आयोजक समितिसँग सम्बन्धित स्रोतका अनुसार हल बुक गर्दा १ लाख ५७ हजार रुपैयाँ पेस्की तिरिसकिएको छ भने बाँकी रकम महाधिवेशन नजिकिँदै गर्दा भुक्तानी गरिनेछ। महाधिवेशनका क्रममा सहभागीहरूका लागि खाना व्यवस्थापन, स्टेज, साउन्ड सिस्टम, सजावट लगायत सम्पूर्ण व्यवस्थापन एकैपटक सम्हाल्ने गरी इभेन्ट म्यानेजमेन्ट कम्पनीलाई जिम्मा दिने विषयमा समेत छलफल भइरहेको छ।

कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले असोज २९ गते विशेष महाधिवेशन माग्दै हस्ताक्षर बुझाएका थिए । विशेष महाधिवेशन माग भएको तीन महिनाभित्र बोलाउनुपर्ने बाध्यकारी विधान अनुसार नै महामन्त्रीद्वय अघि बढेका हुन् ।

सभापति देउवा पक्षले भने नियमित कार्यतालिका नै परिवर्तन गरेर चुनावपछि मात्रै महाधिवेशन गर्ने पक्षमा छ ।