नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्ताव गरेको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने कार्यतालिका पारित भएको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त प्रस्ताव बहुमतका आधारमा स्वीकृत गरेको हो।
बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले खड्काले पेस गरेको महाधिवेशन कार्यतालिका पारित भएको जानकारी दिए।
यद्यपि, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २६ को महाधिवेशन कार्यतालिका प्रभावित भएपछि विशेष महाधिवेशन गर्नुपर्ने अडान कायमै राखेका छन्। उनीहरुले विशेष महाधिवेशनका लागि हलसमेत बुक गरिसकेको बताइएको छ।
बैठकले केन्द्रीय समितिको म्याद २०८३ जेठ मसान्तसम्मका लागि विस्तार गर्ने निर्णय गरेको हो। यसअघि कांग्रेसले मंसिरमा केन्द्रीय समितिको म्याद माघ मसान्तसम्म थप गरेको थियो। पुसमा १५औँ महाधिवेशन गर्ने कार्यतालिकासहित म्याद थपिएको भए पनि अहिले महाधिवेशन कार्यतालिका संशोधन गर्दै वैशाख २८ देखि ३१ गतेसम्म आयोजना गर्ने निर्णय गरिएको छ। यससँगै केन्द्रीय समितिको म्याद पनि जेठ मसान्तसम्म कायम रहने भएको छ।
नेपाली कांग्रेसको विधानअनुसार पार्टीको नियमित कार्यकाल चार वर्षको हुन्छ। तर असाधारण परिस्थिति सिर्जना भएमा विधानले एक वर्षसम्म कार्यकाल थप गर्न सकिने व्यवस्था गरेको छ।
यस्तो छ नयाँ तालिका
चैत २१ – वडा अधिवेशन
चैत २५- गाउँ/नगर अधिवेशन
चैत २८ – प्रदेश सभा क्षेत्रीय अधिवेशन
वैशाख २ – प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको जिल्लाको जिल्ला अधिवेशन
वैशाख ५ – दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र रहेको जिल्ला अधिवेशन
वैशाख १०, ११ र १२ – प्रदेश अधिवेशन
वैशाख २८, २९, ३० र ३१- केन्द्रीय अधिवेशन