नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने–बालेन शाह समूहले आगामी २० वर्षसम्म बहुमत ल्याउने गरी चुनाव जित्न नसक्ने दाबी गरेका छन्। बुधबार काठमाडौंमा आयोजित भूतपूर्व सैनिक तथा प्रहरी संगठनको स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनाव भएमा एमाले नै विजयी हुने जिकिर गरे।
एमाले र नेपाली कांग्रेसले जित्ने देखिएमा चुनावै नगराउने चर्चा भइरहेको भन्दै उनले त्यसप्रति कटाक्ष गरे। रवि–बालेन समूहलाई इंगित गर्दै ओलीले भने, ‘म सुन्छु, एमाले–कांग्रेसले जित्ने भए चुनावै नगराउने अरे ! फलानाले जित्ने भए मात्रै गराउने अरे ! ती फलाना फलानाले त आउने २० वर्ष चुनाव जित्ने वाला छैनन्। अब के गर्ने, चुनाव नगराउने ? २० वर्षसम्म चुनाव जित्न नसक्ने हुन्, भोँपु बजाउनु बेग्लै कुरा हो।’
अध्यक्ष ओलीले अहिले चुनावको वातावरण अझै नबनेको पनि दाबी गरे। वातावरण बनेमा एमाले चुनावमा सहभागी भएर जित्ने उनको भनाइ थियो। ‘यदि चुनाव भयो भने हामी सहभागी हुन्छौँ र जित्छौँ,’ उनले भने।
उनले सेना परिचालन गरेर मात्रै शान्तिपूर्ण चुनाव सम्भव नहुने जिकिरसमेत गरे। मतदान गर्न जाँदा बाटोमै रोक्न सक्ने अवस्था रहन सक्ने भन्दै त्यस्तो परिस्थितिमा सेनाले पनि केही गर्न नसक्ने उनको भनाइ थियो।