एजेन्सी – फ्रान्सेली फरवार्ड एन्टोनी ग्रिजमनले बार्सिलोना छाड्ने योजनामा नरहेको बताइएको छ । नयाँ सिजनका लागि नेयमार र लाउटारो मार्टिनेजलाई भित्राएका खण्डमा उनीहरुसँग टोलीमा ठाँउ बनाउनका लागि प्रतिस्पर्धा गर्न ग्रिजमन तयार रहने बताइएको छ ।
टोलीको अग्रपक्तिमा आफुलाई प्रमाणित गर्न पनि उनले बार्सिलोना छाड्न नचाहेको अनुमान गरिएको छ । यद्यपी उनले यो सिजन सोचे अनुरुपको प्रदर्शन गर्न सकेका छैनन् । ग्रिजमनले बार्सिलोनाका लागि अहिले सम्म १४ गोल गरेका छन् । त्यसमध्ये केहि गोल भने टोलीका लागि अति नै महत्त्वपूर्ण रहेका छन् ।
त्यसका बाबजुद उनले लियोन मेस्सीसँगको साझेदारी विकास गरिरहेका छन् । उनले अर्को सिजन क्लबको अपेक्षा अनुसार प्रदर्शन गर्ने विश्वास लिएका छन् । मेस्सी, लुइस स्वारेज, ग्रिजमन, ओसमाने डेम्बेले, मार्टिन ब्रेथवाइटे र अन्सु फाती अहिले बार्सिलोनाको अग्रपंक्ति सम्हालिरहेका छन् ।
यी मध्ये एकले आउने सिजनले क्लब छाड्ने अपेक्षा गरिएको छ । नेयमार र लाउटारो भने यो सिजन बार्सिलोना जाने सम्भावना बलियो छ । त्यो अवस्थामा अग्रपक्तिमा मौका पाउनका लागि ग्रिजमनले पनि चर्को प्रतिस्पर्धाको सामना गर्नुपर्नेहुन्छ ।
दुई दक्षिण अमेरिकीलाई भित्राएर बार्सिलोना सबै उपाधिको लागि चुनौति दिने योजनामा छ । ग्रिजमन पनि त्यो उपाधि जित्ने सम्भवनालाई गुमाउन नचाहेको बताइन्छ । अहिले बार्सिलोनाले पनि उनलाई अर्को खेलाडीका लागि सट्टा गर्ने कुनै योजना नरहेको जनाएको उल्लेख गरिएको छ ।