नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसको नीति र नेता दुवै फेर्नु पर्ने बताएका छन् ।
कांग्रेस कार्यसम्पादन बैठकपछि बोल्दै महामन्त्री थापाले नीति र नेता फेर्नका लागि अधिवेशन गर्नु पर्ने बताए ।
उनले छिटो अधिवेशन गर्न सकिन्छ भने मंसिरभित्रै गर्न प्रस्ताव गरे । उनले नेतृत्वलाई महाधिवेशन गर्न नसक्ने भए पुरानै प्रतिनिधिबाट अधिवेशन गर्न सुझाव दिए ।
उनले संवेदनशील अस्था भएकाले विशेष महाधिवेशन माग गरिएको बताए । ‘विधानको पालनाको गर्दाखेरि पार्टीलाई विभाजनतर्फ लैजान्छ भन्ने कुराको हौवा किन पिटिराखेको ?’ गगनले प्रश्न गरे ।
‘पार्टी टुट्ने भनेको औपचारिक रुपमा पार्टी टुट्ने होइन, पार्टीका कार्यकर्ताको विश्वास टुट्ने कुरा हो महामन्त्री थापाले भने, ‘पार्टी जुनै निर्णयमा पुगे पनि कार्यकर्तासँग एक ठाउँमा बसे पो पार्टीका साथीहरुको मन रहन्छ ।’
विशेष महाधिवेशन माग गर्ने आफूहरु नभएको सिनियर जुनियर ४० प्रतिशत रहेको थापाले बताए । सङ्ख्याको आधारमा पार्टीमा ठेल्ने पेल्ने काम वर्षौंदेखि भइरहेको उनको आरोप थियो ।
‘कति ठाउँ हार्यौं होला, कति ठाउँ चुक्यौं होला तर यो पटक दुई वटा महामन्त्रीलाई पेल्नु पर्छ भन्दाखेरि यो हदसम्म पुग्यो,’ थापाले भने, ‘४० प्रतिशतले माग गर्दा महाधिवेशन हुनुपर्छ भनेर विधानमा भनिएको छ, माग गर्दा पनि महाधवेशन बोलाइएन भने के गर्ने भन्ने कुरा कतै लेखिएको छैन ।’