बंगलादेशका डाक्टरहरुको एक टिमले ४ दिनमै कोरोना भाइरसका बिरामी ठिक हुने औषधि बनाएको दाबी गरेका छन्।
दुई औषधीहरु मिलाएर बनाएको उक्त एन्टिडोटको परिणाम आश्चर्यजनक पाइएको उक्त टिमले बताएको छ। शोधकर्ता तथा बंगलादेश मेडिकल कलेज हस्पिटलमा मेडिसिन डिपार्टमेन्टका हेड प्रोफेसर मोहम्मद तारिक आलमका अनुसार ६० प्रतिशत बिरामीमा यो औषधीको प्रयोग गरिएको र परिणाम सकारात्मक पाइएको छ।
बिरामीलाई दुई औषधीको एन्टिडोट दिएपछि सबै बिरामी रिकभर भएको उनको दाबी छ।
प्रोफेसर तारिक बंगलादेशका प्रसिद्ध विशेषज्ञ हुन्। उनका अनुसार जनावरहरुमा परजीवि किराहरु मार्न प्रयोग हुने औषधी आइभरमेक्टिनको सिंगल डोजको साथमा एन्टिबायोटिक डोक्सिसाइक्लिनलाई मिलाएर एन्टिडोट तयार गरिएको हो । उनको टिमले बिरामीहरुलाई यही दुई औषधि दिइरहेका छन्। धेरैजसो बिरामीहरु सास फेर्न समस्या भएका थिए र उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो।
मोहम्मद तारिकले औषधी निकै प्रभावकारी भएको दावी गरे। यो औषधी दिएको ४ दिनपछि नै बिरामी रिकभर भए र यसको कुनै साइड इफेक्ट बिरामीमा देखिएन। ठिक भइसकेका सबै बिरामीहरु अझै पनि निगरानीमा छन्।