देउवा ‘टसमस’ भएनन्, कांग्रेसमा अब नयाँ नेतृत्व चयन गर्न प्रतिनिधिको दबाब !

देउवा लालचाले भीरमा पुगेको कांग्रेस गगन–विश्वले बचाउलान् ?

  • प्रकाशित मिति : २०८२ पुष २७, आईतवार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले ‘विशेष महाधिवेशन’को नाम पनि सुन्न नचाहँदा पार्टी विभाजनको डिलमा पुगेको नेताहरुले बताएका छन् ।

कांग्रेसमा सभापति देउवा पक्ष र विशेष महाधिवेशन पक्षधरहरुबीच भएको छलफलमा दुवै पक्षको अडान कायमै रहेकाले कुनै सहमतिको बिन्दु फेला नपारेको वार्तामा सहभागी नेताहरुले बताएका छन् ।



विशेष महाधिवेशनको पक्षमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा रहेका छन् । देउवाका तर्फबाट रमेश लेखक, उमेश श्रेष्ठलगायतले सहमतिको प्रयास गरेका थिए । तर देउवाले विशेष महाधिवेशनको नाम पनि सुन्न नचाहेको पक्षधरको आरोप छ ।

“धेरै छलफल भए तर उहाँ विशेष महाधिवेशनको नाम पनि सुन्न चाहनुभएन,” एक नेताले भने, “विशेष महाधिवेशनमा उपस्थितिका लागि पत्र लिएर गएका नेतालाई पनि अपमानित तरिकाले बाहिर निकाल्ने काम गरियो । उहाँ (सभापति) विशेष महाधिवेशन सुन्न पनि चाहनुहुन्न ।”

अब के हुन्छ ?

कांग्रेसमा दिनभर कुनै चामत्कारिक सहमति नभए विभाजनउन्मुख रहेको वार्तामा सहभागी एक नेताले बताए ।

“जिल्लाबाट जति पनि प्रतिनिधि आउनुभएको छ, उहाँहरुले नेतृत्व परिवर्तनको दबाब दिइरहनुभएको छ,” ती नेताले भने, “आज उद्घाटन हुन्छ । बेलुकासम्म चामत्कारिक सहमति नभए के हुन्छ भन्न सकिँदैन ।”

उनका अनुसार दुई तीनवटा विकल्पमा छलफल भइरहेको छ । त्यसमध्ये धेरै प्रतिनिधिको धारणा नेतृत्व परिवर्तन भनेका छन् ।

“निर्वाचन नजिक आउँदैछ, उहाँहरु टिकटको पनि बेवास्ता गर्दै कांग्रेस बचाउनुपर्छ भन्नेमा हुनुहुन्छ,” ती नेताले भने, “टिकटको बाजी थापेर आएका प्रतिनिधि नयाँ नेतृत्व चयनकै पक्षमा हुनुहुन्छ ।”

उनीहरु पहिलो चरणमा देउवाको विकल्पमा जो सभापति भए पनि हुने निष्कर्षमा रहेर दबाब बढाइरहेका छन् । तर देउवा पक्ष लचिलो बनेमा उद्घाटन पनि नीति महाधिवेशनमा परिणत गर्न सकिने विशेष महाधिवेशन पक्षधरहरु बताउँछन् ।

देउवा निकट एक नेताले कुराकानीमा भने– अहिले विशेष महाधिवेशनको औचित्य त देखिँदैन । तर पनि सभापतिले अन्तिमसम्म सहमति जुटाउनुहुनेछ भन्नेमा विश्वस्त छौँ ।”

विशेष महाधिवेशनका लागि गगन थापा र विश्वप्रकाश शर्मा दुईजनाको राजनीतिक र सांगठनिक प्रतिवेदन पेस हुनेछ ।

“सहमति भयो भने नीति महाधिवेशनमा केन्द्रित हुनेछ, नभए नेतृत्व परिवर्तन गर्नेछौ,” ती नेताले भने ।

अब कांग्रेसको भविष्य के हुन्छ ?

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले देउवा र संस्थापन पक्षले षड्यन्त्रपूर्वक विलम्ब गरेका कारणले अहिलेको अवस्था आएको बताउँछन् ।

उनले कांग्रेसको भविष्यका बारेमा कुरा गर्दै महाधिवेशन सर्वोच्च निकाय भएको हुनाले त्यसका प्रतिनिधिले गर्ने निर्णय सबैले मान्नुपर्ने बताए ।

यस्ता छन् उनका धारणा
१४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको चारवर्षे कार्यकाल पूरा भइसकेको कारणले मंसिरभित्र १५औं महाधिवेशन गरिसक्नुपर्ने थियो । तर सभापति शेरबहादुर देउवा र संस्थापन पक्षले षड्यन्त्रपूर्वक विलम्ब गरेको कारणले घोषित मितिमा पनि महाधिवेशन गरिएन । जेन–जी विद्रोहपछि राष्ट्रिय राजनीतिमा विषम र असाधारण परिस्थिति सिर्जना भएको कारणले तत्कालै विशेष महाधिवेशन गर्नुपर्थ्यो ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेपछि अनिवार्य रूपमा गर्नुपर्ने केन्द्रीय समितिमा प्राविधिक बहुमतको आडमा नगरेपछि विशेष महाधिवेशन हुनु स्वाभाविक हो । विशेष महाधिवेशन विधानको दृष्टिले वैधानिक छ, राजनीतिक दृष्टिले आवश्यक छ र जनता तथा कार्यकर्ताको समर्थनको दृष्टिले वैधता हासिल गरिसकेको छ ।

महाधिवेशन पार्टीको सर्वोच्च निकाय र महाधिवेशन प्रतिनिधि सार्वभौम भएको कारणले अब विशेष महाधिवेशनको नीति र निर्णयअनुसार कांग्रेस अगाडि बढ्छ र बढ्नु पर्छ । अब यो भन्दा अर्को विकल्प छैन ।

पार्टीको सिद्धान्त र नीतिलाई तिलाञ्जली दिएर सत्ताका लागि राजा त्रिभुवनसँग आत्मसमर्पण गरेपछि आफ्नै दाजु तथा २००७ सालको क्रान्तिका कमान्डर मातृकाप्रसाद कोइरालाको विरुद्धमा विद्रोह गरी बीपीले कांग्रेस बचाएको इतिहास स्मरण गर्दै उपयुक्त निर्णय लिनुपर्ने घडी हो यो  ।

अहिले विशेष महाधिवेशन गरेर कांग्रेसको अस्तित्व जोगाउने कि निर्वाचनपछि महाधिवेशनका नाममा अवशेष रहेको अस्थिपञ्जरको समाधिस्थ गर्ने ? अहिलेको यक्ष प्रश्न यही हो ।