गगन-विश्वलाई विनोद चौधरीको आग्रह- ‘यो यात्रालाई निर्णायक टुंगोमा पुर्‍याउनुस्’

  • प्रकाशित मिति : २०८२ पुष २७, आईतवार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका नेता तथा व्यवसायी विनोद चौधरीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई सुरु भएको राजनीतिक यात्रालाई अधुरो नछोडी निर्णायक मोडसम्म पुर्‍याउन आग्रह गरेका छन्।

आइतबार कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै चौधरीले पार्टी परिवर्तनको यात्रालाई निष्कर्षमा पुर्‍याउन नेतृत्वले साहसिक कदम चाल्नुपर्ने बताए। “महामन्त्रीद्वयलाई अनुरोध गर्दछु—यो यात्रालाई अधुरो नछोड्नुस्, यसलाई निर्णायक यात्रामा पुर्‍याउनुहोस्,” उनले भने।



चौधरीले पछिल्लो ३५ वर्षको अवधिमा मुलुक र पार्टी दुवैले सही बाटो गुमाएको स्वीकार गरे। सुशासन दिन नसक्दा आजको अवस्था सिर्जना भएको उनको जिकिर थियो।
“हामीले ३५ वर्षको दौरानमा बाटो बिराएकै रहेछौँ,” उनले भने।

बाटो बिराएकै कारण जेनजी आन्दोलन भएको उल्लेख गर्दै चौधरीले त्यसलाई राष्ट्र परिवर्तनको पुकारको रूपमा व्याख्या गरे। “जेनजी आन्दोलन राष्ट्र परिवर्तनको पुकार थियो। तर त्यसमा केही यस्ता तत्व पनि प्रवेश गरे, जसले मुलुकका संरचना ध्वस्त पारे,” उनले भने।

अब आउने निर्वाचनमा युवालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै चौधरीले कम्तीमा ५० प्रतिशत नयाँ अनुहारलाई उम्मेदवार बनाउनुपर्ने प्रस्ताव अघि सारे। “अब आउने निर्वाचनमा कम्तीमा ५० प्रतिशत नयाँ अनुहारलाई उम्मेदवार बनाउनुपर्छ,” उनले स्पष्ट गरे।