ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सको नयाँ नेतृत्व चयन

  • प्रकाशित मिति : २०८२ माघ १०, शनिबार
  • नेपाल टेल संवाददाता

लन्डन। बेलायतस्थित नेपाली तथा बेलायती व्यवसायीहरूको संस्था ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (BNCC) को नयाँ नेतृत्व चयन भएको छ। लन्डनस्थित नेपाली दूतावासमा शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले ट्राभल व्यवसायी बिराज भट्टको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको हो। भट्ट यसअघि उपाध्यक्ष थिए।

नयाँ कार्यसमितिमा उपाध्यक्षद्वयमा इन्द्र गिरी र कमल पौडेल, सचिवमा राजेन्द्र श्रेष्ठ चयन भएका छन्। सदस्यहरूमा प्रभु न्यौपाने, कृष्ण भट्ट, सन्तोष मण्डल, नाडिया विलियम्स, अन्जनी फुंयाल, प्रकाश ढुंगाना, अनिल न्यौपाने, दीपक श्रेष्ठ, मोसाद अन्जिज, वीपी खनाल, वसन्त नेपाल, विकास नेपाल र क्याम्पबेल मिचेल रहेका छन्। संस्थाको सिइओमा स्टिभ बक्ले चयन भएका छन्।



कार्यक्रममा बीएनसीसीका संरक्षक तथा कार्यवाहक राजदूत विपिन दुवाडीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै बेलायत–नेपाल व्यापारको पछिल्लो अवस्था प्रस्तुत गरे। उनका अनुसार सन् २०१९ मा दुई देशबीचको कुल व्यापार ६०९ मिलियन पाउण्ड पुगेको थियो भने हाल यो ३०० मिलियन पाउण्डभन्दा कम छ। सन् २०२५ को पहिलो ६ महिनामा यूकेबाट नेपाल निर्यात ६८ मिलियन पाउण्ड र आयात १८२ मिलियन पाउण्ड रहेको उनले बताए। नेपाल वैदेशिक लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै दूतावासले बीएनसीसीसँग सहकार्य गरिरहेको जानकारी पनि दिए।

नवनिर्वाचित अध्यक्ष भट्टले बेलायतस्थित नेपाली व्यवसायीलाई थप समेट्दै नेपालमा लगानी प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाए। उनले सन् २०२६ अक्टोबरमा नेपालमा ट्रेड मिसन लैजाने योजना र दोहोरो कर प्रणाली हटाउन निरन्तर लबी गर्ने बताए।

साधारणसभापछि आयोजित रात्रीभोजमा निवर्तमान अध्यक्ष डा. कपिल रिजालले आपसी सहकार्यका लागि बीएनसीसी स्थापना भएको उल्लेख गर्दै नयाँ नेतृत्वले संस्थालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

सन् १९९६ मा स्थापित बीएनसीसीले व्यापार, पर्यटन प्रवर्द्धन तथा लगानी अभिवृद्धिका लागि निरन्तर काम गर्दै आएको छ।