‘प्रधानमन्त्री उम्मेदवारहरूबीच सार्वजनिक बहस गरौँ’ – कांग्रेस सह-महामन्त्री राणा

  • प्रकाशित मिति : २०८२ माघ १०, शनिबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका सह-महामन्त्री उदयशमशेर राणाले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएका नेताहरूबीच सार्वजनिक बहस गर्न प्रस्ताव गरेका छन्।

उनले प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिएका नेताहरू सबैलाई एउटै मञ्चमा राखेर भावी योजनाबारे बहस गर्नुपर्ने बताएका हुन्।



बहसले लोकतन्त्र बलियो हुने भएकाले प्रश्नबाट कोही भाग्न नहुने भन्दै उनले सामाजिक सञ्जलामार्फत बहसका लागि कांग्रेस तयार रहेको बताए।

“यसपटक सबैजसो प्रमुख राजनीतिक दलहरूले निर्वाचनअघि नै भावी प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरेका छन्‚” राणाले सामाजिक सञ्जालमा लेखेका छन्‚ “यतिबेला हरेक नागरिकको स्वभाविक जिज्ञासा छ‚ यी प्रधानमन्त्रीका उम्मेदवारलाई एकै मञ्चमा राखेर सार्वजनिक बहस किन नगर्ने?”

उनले बहसबाट प्रधानमन्त्रीका उम्मेदवारको देश निर्माणबारेको ठोस नीति‚ योजना र कार्यक्रम‚ अर्थतन्त्र‚ रोजगारी‚ शिक्षा‚ स्वास्थ्य‚ सुशासनको सवालमा दृष्टिकोण थाहा हुने पनि उल्लेख गरेका छन्।