दिवंगत विद्यार्थी मण्डलका लागि यूकेवासी नेपाली समुदाय एकजुट

  • प्रकाशित मिति : २०८२ माघ २७, मंगलवार
  • नेपाल टेल संवाददाता

लन्डन। गत साता निधन भएका नेपाली विद्यार्थी विवेकानन्द मण्डलको सम्झनामा सन्डरल्याण्डमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

सोमबार आयोजित कार्यक्रममा एनआरएनए यूके, सन्डरल्याण्ड विश्वविद्यालय नेपाली समाज, विद्यार्थी तथा नेपाली समुदायको उपस्थितिमा दुई मिनेट मौनधारण, मैनबत्ती बालेर फूलमाला अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरियो। एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै दुःखको घडीमा नेपाली समुदाय एकजुट रहेको बताए।



मण्डलको शव नेपाल पठाउन ‘गो फण्ड मी’ मार्फत १० हजार ५०० पाउण्डभन्दा बढी सहयोग संकलन भएको छ। लक्ष्यभन्दा बढी रकम जुटेपछि चन्दा संकलन बन्द गरिएको एनआरएनए यूकेले जनाएको छ।

हनुमाननगर, सप्तरीका २२ वर्षीय मण्डलको सन्डरल्याण्ड रोयल अस्पतालमा उपचारका क्रममा निधन भएको हो। कम्प्युटर साइन्समा अण्डरग्रयाजुएट अध्ययनरत मण्डल केही समयदेखि फोक्सो तथा श्वासप्रश्वास समस्याबाट पीडित थिए। उनकाे पार्थिव शरीर आउँदो शनिबार नेपाल पठाउने तयारी भइरहेको छ।