लन्डन । तेस्रो लन्डन बिस्का जात्रामा लन्डनस्थित नेपाली दूतावासको सहकार्य रहने भएको छ। गत ११ फेब्रुअरीमा आयोजक पासा पुचः गुथि यूके र कार्यवाहक राजदूत विपिन दुवाडीबीच भएको भेटमा दूतावासले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।
जात्रा आगामी १९ अप्रिल आइतबार डाटफोर्डस्थित ओपन एयर थिएटर सेन्ट्रल पार्कमा आयोजना हुनेछ। कार्यवाहक राजदूत दुवाडीले प्रमुख अतिथिका रूपमा निमन्त्रणा स्वीकार गर्दै नेपाल सरकारका विभिन्न निकायबाट सहयोगका लागि पहल गर्ने आश्वासन दिएका छन्।
पासा पुचः गुथि यूके साउथ इष्ट लन्डन अध्यक्ष सुरोज मास्केको संयोजनमा हुने जात्रामा भैरव र भद्रकालीको रथ तान्ने, योसिंद्यो (लिंगो) उठाउने तथा पहिलोपटक मध्यपुरको मौलिक सिन्दुर जात्रा आयोजना गरिनेछ।
दिउँसो १२ देखि साँझ ६ बजेसम्म सञ्चालन हुने कार्यक्रममा रथ परिक्रमा, खः जात्रा, नेवारी बाजा, सांस्कृतिक प्रस्तुति तथा खाना र व्यापारिक स्टलहरु रहने आयोजकले जनाएको छ।