अघिल्लो निर्वाचनमा सुदूरपश्चिम प्रदेशका आधा क्षेत्रमा विजयी भएको नेपाली कांग्रेसले अहिलेसम्म मतगणना भएका क्षेत्रहरूमध्ये बैतडी बाहेक कतै पनि अग्रता बनाउन सकेको छैन।
अघिल्लो निर्वाचनमा कैलाली–४ बाट वीरबहादुर बलायर र कैलाली–५ बाट डिल्लाराज पन्त विजयी भएका थिए। अहिले यी दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू अगाडि छन्।
कञ्चनपुरको क्षेत्र नम्बर २ र ३ मा पनि अघिल्लो निर्वाचनमा कांग्रेस विजयी भएको थियो। क्षेत्र नम्बर २ मा अघिल्लो पटक निर्वाचित भएका कांग्रेसका उम्मेदवार एनपी साउदलाई रास्वपाका दीपक बोहराले निकै पछि छोडेका छन्।
रमेश लेखक निर्वाचित भएको क्षेत्र नम्बर ३ मा पनि रास्वपाका उम्मेदवार ज्ञानेन्द्र महता अगाडि छन्।
डडेल्धुरामा अघिल्लो पटक शेरबहादुर देउवा निर्वाचित भएका थिए। २०४८ सालदेखि यहाँ देउवा विजयी हुँदै आएका थिए। अहिले उनले टिकट पाएनन्। उनको ठाउँमा कांग्रेसले नैनसिंह महरालाई टिकट दिएको थियो। महर अहिले यहाँ तेस्रो स्थानमा छन्। उनलाई नेकपाका मानसिंह माल र रास्वपाका डा। ताराप्रसाद जोशीले पछि पारेका छन्।
अघिल्लो पटक कांग्रेस विजयी भएको अछाम–२ मा पनि कांग्रेस उम्मेदवार अहिले पछि परेका छन्। त्यस्तै बाजुरा र दार्चुलामा पनि अघिल्लो पटक कांग्रेस विजयी भएको थियो। यी दुवै क्षेत्रको मतपरिणाम आउन बाँकी छ।
२०७९ को निर्वाचनमा ४ क्षेत्र जितेको नेकपा (एस), ३ क्षेत्रमा विजय हासिल गरेको नागरिक उन्मुक्ति पार्टी र एउटा पनि सिट जित्न नसकेको नेकपा ९माओवादी केन्द्र० बीच एकता भए पनि त्यसअनुसारको मत भने नेकपाले पाएको देखिँदैन। अहिले नेकपाले अछाम–१ मा मात्रै अग्रता बनाइरहेको छ।
अघिल्लो पटक कांग्रेससँगको गठबन्धनमा यहाँ तत्कालीन नेकपा ९एस० का उम्मेदवार शेरबहादुर कुँवर विजयी भएका थिए। अहिले नेकपाकै भीम रावलले यहाँ अग्रता बनाइरहेका छन्।
२०७९ को निर्वाचनमा नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा २ क्षेत्रमा जित हात पारेको थियो। एमालेले अघिल्लो पटक जितेको कञ्चनपुर १ मा रास्वपा अघि छ भने बैतडीमा नेपाली कांग्रेसले अग्रता बनाइरहेको छ ।
पहिले जितेको यी क्षेत्रमा अहिले एमाले पछि परे पनि एमालेले अन्य पाँच क्षेत्रमा अग्रता बनाइरहेको छ। अघिल्लो पटक कांग्रेसले जितेको अछाम–२ मा अहिलेसम्म एमाले उम्मेदवार यज्ञ बोगटी अगाडि छन्।
त्यस्तै नेकपा ९एस० ले जितेको बझाङमा नेकपा एमालेका ऐन महर अगाडि छन् भने अघिल्लो पटक नागरिक उन्मुक्ति पार्टीले जितेको कैलाली–२ मा पनि अहिले एमाले उम्मेदवार सूर्य थापा अगाडि छन्। त्यस्तै अघिल्लो पटक नेकपा एसले जितेको डोटी र कांग्रेसले जितेको दार्चुलामा पनि अहिले एमाले अगाडी रहेको छ ।
आधामा रास्वपा अगाडि
सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म सार्वजनिक भएका मतपरिणामअनुसार आधा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेको छ। अघिल्लो पटक आधा क्षेत्रमा नै कांग्रेस विजयी भएको थियो।
अहिलेसम्म ८ क्षेत्रमा रास्वपाले आफूलाई अग्रपंक्तिमा राखेको छ। रास्वपाले कञ्चनपुर–१, कञ्चनपुर–२, कञ्चनपुर–३, कैलाली–१, कैलाली–३, कैलाली–४, कैलाली–५ र डडेल्धुरामा अग्रता बनाइरहेको छ।