नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ। फाइनल खेलमा शानदार प्रदर्शन गर्दै लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेसँगै पहिलो पटक एनपीएलको ट्रफी उचाल्न सफल भएको हो। यससँगै लगातार दोस्रो पटक फाइनलमा पुगेको सुदूरपश्चिम भने फेरि पनि उपविजेतामै चित्त बुझाउन बाध्य भयो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्स ८५ रनमै अलआउट भयो। निर्धारित ओभर सकिन चार बल बाँकी छँदै सबै विकेट गुमाएको सुदूरपश्चिमको यो योगफल जारी एनपीएलकै सबैभन्दा कम स्कोर हो। कमजोर ब्याटिङ प्रदर्शनका कारण सुदूरपश्चिम फाइनलमा दबाबमा परेको थियो।
जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी लायन्सले ८६ रनको सामान्य लक्ष्य नवौँ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो। ६ विकेटको सहज जित निकाल्दै लुम्बिनीले उपाधि आफ्नो नाममा लेखायो।
लुम्बिनीका लागि ओपनर दिनेश अधिकारीले विस्फोटक ब्याटिङ गर्दै खेललाई एकतर्फी बनाए। उनले मात्र १३ बलमा ४२ रनको आक्रामक पारी खेले। अर्का ओपनर डार्सी सर्टले १३ बलमा १४ रन जोडे। नटआउट रहेका निरोशन डिकवेलाले १२ बलमा ११ रन बनाए भने कप्तान रोहित पौडेलले १२ बलमा १६ रनको योगदान दिए। सन्दीप जोरा शून्य रनमै आउट भए। दिलिप नाथ १ रनमा नटआउट रहे। लुम्बिनीले अतिरिक्त रूपमा २ रन पाएको थियो।
बलिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए। हेमन्त धामीले २ विकेट झारे भने अविनाश बोहराले १ विकेट लिए।
यसअघि ब्याटिङमा सुदूरपश्चिमले निकै कमजोर सुरुआत गर्यो। पावर प्लेमा नै ३ विकेट गुमाउँदै उसले मात्र २० रन बनाउन सक्यो। फाइनल जस्तो महत्त्वपूर्ण खेलमा सुदूरपश्चिमले सिजनकै सबैभन्दा खराब प्रदर्शन गर्यो।
सुदूरपश्चिमलाई कम स्कोरमै समेट्न लुम्बिनीका कप्तान रोहित पौडेलले निर्णायक भूमिका खेले। उनले ११औँ ओभरमा ह्याट्रिक विकेट लिँदै खेलको मोड नै बदलिदिए। सो ओभरको चौथो बलमा दीपेन्द्र सिंह ऐरीलाई १३ रनमा रुबेन ट्रम्पलम्यानको हातबाट क्याच आउट गराए। पाँचौँ बलमा दीपक बोहरालाई शून्य रनमा सन्दीप जोराको हातबाट क्याच गराए। अन्तिम बलमा पुनित मेहरालाई शून्य रनमै एलबीडब्लू आउट गर्दै ह्याट्रिक पूरा गरे।
जारी एनपीएलमा ह्याट्रिक विकेट लिने रोहित दोस्रो खेलाडी बने। यसअघि काठमाडौं गोर्खाजका साहब आलमले पोखरा एभेन्जर्सविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका थिए।
लुम्बिनीका शेर मल्लले ३ विकेट लिँदै सुदूरपश्चिमका आरिफ शेख, हरमित सिंह र ईशान पाण्डेलाई आउट गरे। रुबेन ट्रम्पलम्यानले पनि ३ विकेट आफ्नो नाममा लेखाए। उनले पहिलो ओभरको अन्तिम बलमा ओपनर विनोद भण्डारीलाई शून्य रनमै आउट गरे। तेस्रो ओभरको तेस्रो बलमा सेल्डन ज्याक्सनलाई १ रनमा एलबीडब्लू धरापमा पारे। तिलक भण्डारीले १ विकेट लिए।
सुदूरपश्चिमका लागि ओपनर ईशान पाण्डेले ५१ बलमा १ चौकाको सहयोगमा बनाएको ३३ रन नै सर्वाधिक रह्यो। कप्तान ऐरीले १३ रन जोडे भने हरमित सिंह र स्कट कुग्लेजिनले समान १०–१० रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
फाइनलमा लुम्बिनीको दबदबापूर्ण प्रदर्शनसँगै एनपीएल सिजन–२ ले नयाँ च्याम्पियन पाएको छ भने सुदूरपश्चिम फेरि एक पटक उपाधिको नजिक पुगेर पनि खाली हात फर्किन बाध्य भएको छ।