प्रतिनिधि सभा निर्वाचनको पछिल्लो मतपरिणामले मोरङ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले क्लिनस्वीप’ गरेको छ। मोरङका सबै ६ मध्ये सबे क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भएका हुन् ।
मोरङ–१ मा रास्वपाका यज्ञमणि न्यौपानेले २७ हजार ३६७ मत प्राप्त गरी विजय हासिल गरे । उनले नेपाली कांग्रेसका खड्ग बहादुर फागोलाई १५ हजार बढी मतान्तरले पराजित गरे । फागोले ११ हजार ९८६ मत मात्रै पाएका थिए। त्यस्तै, श्रम संस्कृति पार्टीका शान्ति पाख्रिन लामाले १७,५२२ मत प्राप्त गर्दा नेकपा (एमाले) का घनश्याम खतिवडाले ९,८२३ मत पाएका थिए ।
मोरङ–२ मा रास्वपाका कृष्ण कुमार कार्कीले ४० हजार १२४ मत प्राप्त गर्दै नेपाली काँग्रेसका प्रभावशाली नेता मीनेन्द्र प्रसाद रिजाललाई पराजित गरे। रिजालले १२ हजार ६४४ मत मात्रै प्राप्त गर्न सके जुन कार्कीको भन्दा दोब्बरभन्दा बढी हो । १४औँ महाधिवेशनमा काँग्रेसको महामन्त्रीका प्रत्यासी रहेका रिजाल यसअघि उम्मेदवार थिएनन् । सो क्षेत्रमा एमालेले जितेको थियो ।
मोरङ–३ मा रास्वपाका गणेश कार्कीले ३६ हजार ९२४ मत ल्याएर नेपाली काँग्रेसका सुनिल कुमार शर्मालाई पराजित गरे । यसअघिका सांसद तथा लोकप्रिय नेताका रूपमा चिनिने मेडिकल डाक्टर शर्माले २४ हजार ३५४ मत प्राप्त गरे ।
मोरङ–४ मा रास्वपाका सन्तोष राजवंशीले ४० हजार ८३३ मत प्राप्त गरी काँग्रेसका गुरुराज घिमिरेलाई पराजित गरे। घिमिरेले १२ हजार २८८ मत प्राप्त गरेका थिए। पार्टीका प्रभावशाली नेताका रूपमा चिनिने घिमिरेको हारले कांग्रेसको आधारभूत जनमतमाथि रास्वपाले धावा कोलेको देखाउँछ । गुरुराज घिमिरे पार्टीका महामन्त्री हुन् र पुसमा सम्पन्न विशेष महाधिवेशनबाट उनी सभापतिमा निर्वाचित भएका थिए।
मोरङ–५ मा रास्वपाकी आशा झाले ३० हजार ४३४ मतसहित विजय हासिल गरेकी छन् । उनले नेपाली काँग्रेसका फुल कुमार लालवानीलाई १६ हजार मतले पछि पारिन् । लालवानीले १४ हजार ४५७ मत प्राप्त गरेका थिए ।
यहाँ जनता समाजवादी पार्टी नेपालका राज कुमार यादवले ८ हजार ७४७ मत, नेपाली कम्युनिस्ट पार्टीका शिव कुमार मण्डलले ८ हजार ६४४ मत र नेकपा (एमाले) का मनोज कुमार अग्रवालले हजार ५४४ मत प्राप्त गरेका थिए।
मोरङ–६ मा रास्वपाकी रुबिना आचार्यले ५५ हजार ५१३ मतसहित नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालालाई पराजित गर्दै सबैभन्दा ठुलो अपसेट गरिन् । कोइरालाले १२ हजार २५० मत मात्रै प्राप्त गरे जुन आचार्यको भन्दा ४० हजारभन्दा बढी कम हो। अघिल्लो पटक सोही क्षेत्रमा निर्वाचित भएका कोइराला १४औँ महाधिवेशनमा पार्टीको सभापतिका प्रत्यासी थिए ।
अघिल्लो निर्वाचनमा मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसले ४ वटामा जित निकालेर आफ्नो वर्चस्व कायम राखेको थियो । बाँकी दुई सिटमध्ये एउटामा एमाले र एउटामा माओवादी केन्द्रले जितेका थिए ।
तर, यसपटक कुनै पनि दलले एउटा पनि सिट जित्न सकेनन्।