कांग्रेसको सबै प्रदेशमा प्रतिनिधित्व हुँदा एमाले–नेकपा तीन प्रदेशबाट बढारिए

प्रत्यक्षमा कांग्रेस एमालेभन्दा दोब्बर ठुलो

  • प्रकाशित मिति : २०८२ फाल्गुन २६, मंगलवार
  • नेपाल टेल संवाददाता

प्रतिनिधि सभामा नेपाली कांग्रेस भन्दा नेकपा एमालेले प्रत्यक्षतर्फ आधा कम सीट जितेको छ। कांग्रेसले १८ सीट जित्दा नेकपा एमाले ९ सीटमा खुम्चिएको छ।

अघिल्लो चुनावमा कांग्रेसले प्रत्यक्षतर्फ ५८ सीट जित्दा एमालेले ४४ सीट जितेको थियो। प्रत्यक्षतर्फ १८ सीटमा खुम्चिए पनि कांग्रेसको सबै प्रदेशमा प्रतिनिधित्व भने भएको छ। कोशीमा पाँचथरबाट नरेन्द्रकुमार केरुङ, तेह्रथुमबाट सन्तोष सुब्बा, इलाम १ मा निश्कल राई र सोलुखुम्बुबाट प्रकाश सिंह कार्की विजयी भए।



मधेश प्रदेशबाट रौतहट २ मो. फिरदोश आलम, बागमतीबाट रसुवामा मोहन आचार्य, गण्डकीमा मनाङबाट टेकबहादुर गुरुङ र मुस्ताङबाट योगेश गौचन थकाली विजयी भए।

लुम्बिनीमा पाल्पा १ बाट सन्दीप राना, कपिलवस्तु ३ मा अभिषेक प्रताप शाह, कर्णालीबाट मुगुमा खड्ग शाही, हुम्लामा जय पती रोकाया, जाजरकोटमा खडकबहादुर बुढा, दैलेख १ मा बासना थापा र सुर्खेत १ मा विष्णुबहादुर खड्काले जिते।

सुदूरपश्चिमबाट बाजुरा १ मा जनक राज गिरी, अछाम १ मा भरत कुमार स्वार र डोटी भरतबहादुर खड्का विजयी भए। प्रत्यक्षतर्फ ९ सीट जितेको एमाले बागमती, मधेश र गण्डकी प्रदेशबाट बढारिएको छ।

एमालेले कोशीबाट ताप्लेजुङमा क्षितिज थेबे, इलाम २ मा सुहाङ नेम्बाङ, संखुवासभामा अर्जुन कुमार कार्की, धनकुटा १ मा राजेन्द्र कुमार राई विजयी भए।

लुम्बिनी प्रदेशबाट बाँके २ मा मोहम्मद इश्तियाक राई, कर्णालीबाट दैलेख २ मा लक्ष्मीप्रसाद पोखरेलले जित्दा सुदूरपश्चिमबाट अछाम २ मा यज्ञ बहादुर बोगटी, बझाङमा ऐनबहादुर महर र दार्चुलामा गणेश सिंह ठगुन्ना विजयी भए।

त्यसो त अघिल्लो पटक प्रत्यक्षमै १८ सीट जितेको नेकपा पनि कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशबाट बढारियो। अहिले ८ सीट मात्रै जितेको छ। नेकपाले मधेशबाट धनुषा १ मा मातृका यादवले विजयी भएको प्रमाणपत्र पाएका छन्। यद्यपि, यहाँको विवादबारे मुद्दा सर्वोच्चमा विचाराधीन छ।

बागमतीबाट सिन्धुपाल्चोक २ मा युवराज दुलाल, लुम्बिनीमा रुकुमपूर्वबाट पुष्पकमल दाहाल प्रचण्ड, रोल्पामा बर्षमान पुनले जिते। कर्णाली प्रदेशमा भने सल्यानमा रमेश कुमार मल्ल, डोल्पामा धनबहादुर बुढा, कालिकोटमा महेन्द्र बहादुर शाही र रुकुम पश्चिममा गोपाल शर्माले जितेका छन्।

समानुपातिक तर्फ पनि एमाले गएको निर्वाचनमा भन्दा आधा कम मत पाएको छ। गएको निर्वाचनमा २८ लाख ४५ हजार ६४१ मत ल्याएर लोकप्रिय पार्टी बनेको एमाले अहिले १४ लाख मात्रै पाएको छ।

१ करोड ५ लाख ३९ हजार ४८३ मत गन्दा अहिलेसम्म १४ लाख २९ हजार ७२३ मत मात्रै पाएको छ। गएको निर्वाचनमा २७ हजार १५ लाख २२५ मत पाएको कांग्रेसको करिब १० लाख मत घटेको छ। अहिलेसम्म कांग्रेसले १७ लाख १२ हजार ३७५ मत पाएको छ।

समानुपातिकतर्फ हावी भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख ५० हजार ४९८ मत कटाउँदा नेकपाले ७ लाख ७८ हजार ८६८ मत पाएको छ।