एमालेले राष्ट्र बैंकको गभर्नर बन्न नदिएका गुणाकरलाई रास्वपाले बनायो योजना आयोगका उपाध्यक्ष

  • प्रकाशित मिति : २०८२ चैत्र २४, मंगलवार
  • नेपाल टेल संवाददाता

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्ट नियुक्त गरेको छ । १८औँ गभर्नर बन्ने रेसमा रहेका राष्ट्रबैंकका पूर्वकार्यकारी निर्देशक गुणाकर भट्ट अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारको कोपभाजनमा परेका थिए । कांग्रेस-एमालेको गठबन्धन सरकारमा उनलाई तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाकै इच्छामा गभर्नर बनाउन खोजिएको थियो ।

तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निलम ढुंगानालाई बनाउन खोजेपछि गठबन्धनमै समस्या देखिने अवस्था आयो । राष्ट्र बैंकको गभर्नर राजनीतिक भागबण्डाको आधारमा नेपाली कांग्रेसको भागमा परेको थियो । गठबन्धनमै समस्या आउने भएपछि आरजु राणा देउवाको पहलमा हालका गभर्नर विश्वनाथ पौडेल नियुक्त भएका थिए । देउवाबाट गभर्नर बन्ने आश्वासन पाएका डोटीका भट्टले राष्ट्रबैंकको कार्यकारी निर्देशक पदबाट समेत राजीनामा दिएका थिए । तर, गभर्नरकै रेसमा रहेकी तत्कालीन कायममुकायम गभर्नर निलम ढुंगानाले भट्टको राजीनामा नै स्वीकृत गरिनन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टलाई गभर्नर बनाउन मानेनन् । कांग्रेसकै भागमा परेपनि उनले विकल्प खोज्न दबाब दिएका थिए ।



राष्ट्र बैंकमा २५ वर्ष बिताएका, मौद्रिक अर्थशास्त्रका विज्ञ र स्वच्छ छविका बनाएका भट्ट गभर्नर बन्ने लगभग निश्चित देखिएको बेला राजनीति कोपभाजनमा परेका थिए । तर समय यसरी फेरिएको छ कि तत्कालीन प्रधानमन्त्री ओलीको दल एमाले कमजोर बन्दै उनी प्रहरी हिरासतमा पुगे यता, उनकै कारण सक्रिय कामबाट विदा भएका भट्ट योजना आयोगको उपाध्यक्ष बन्दै सिंहदरवार प्रवेश गर्दै छन् ।

देउवा भट्टको प्राविधिक दखल र निष्पक्षताबाट प्रभावित थिए । तर नियुक्ति प्रक्रिया अघि बढ्दै जाँदा बालुवाटारको मनस्थिति बदलियो ।

प्रधानमन्त्री ओलीले डा. भट्टको सट्टा अन्य विकल्प खोज्न कांग्रेसलाई दबाब दिए । ओलीले भट्टलाई कांग्रेसको बढी नजिक ठानेर वा अन्य कारणले गभर्नरमा सहमति नहुँदा नियुक्ति एक महिनाभन्दा बढी रोकियो ।

भट्टको नियुक्ति विवादले त्यसवेला सिफारिस समिति नै पुनर्गठन भएको थियो । सिफारिस समितिका संयोजक पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा नै दिए, गभर्नर बन्ने भएपछि समिति सदस्य विश्वनाथ पौडेलले पनि राजीनामा दिएका थिए । छनौट समितिका संयोजक र सदस्यले राजीनामा दिएपछि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुनर्गठन गरे ।

डा. गुणाकर भट्ट को हुन् ?

भट्ट सुदूरपश्चिमको डोटीका स्थायीबासिन्दा हुन् । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका उनी गोल्डमेडलिष्ट हुन् । उनले अमेरिकाको विलियम कलेजबाट स्नातकोत्तर र वयन स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

राष्ट्र बैंकमा २५ वर्ष काम गरेका उनी पटक-पटक प्रवक्ता समेत बनेका थिए । बैंक नियमन, सुपरिवेक्षण, भुक्तानी प्रणाली र राष्ट्र ऋण व्यवस्थापन जस्ता महत्त्वपूर्ण विभागको नेतृत्व गरे । सरकारले योजना आयोगको उपाध्यक्ष नियुक्त गरेसँगै अब उनी देशको समग्र विकासको खाका कोर्ने जिम्मेवारीमा पुगेका छन् । मौद्रिक नीतिमा विज्ञता हासिल गरेका भट्टले अब वित्त नीति र विकास नीतिबिचको खाडल पुर्न भूमिका खेल्ने विश्वास लिइएको छ ।