स्थानीय चुनावमा लेबरलाई चुनौती, प्रधानमन्त्री स्टार्मरको जनमतसंग्रह

  • प्रकाशित मिति : २०८३ बैशाख २४, बिहीबार
  • नेपाल टेल संवाददाता

लन्डन। विहीबार इङ्ल्यान्ड, स्कटल्याण्ड र वेल्समा स्थानीय चुनाव हुँदैछ । र, यो चुनावलाई वर्तमान प्रधानमन्त्री केयर स्टार्मरको एक प्रकारको जनमत संग्रहका रूपमा हेरिएको छ ।

कन्जर्भेटिभ पार्टीको १४ वर्ष लामो शासन अन्त्य गर्दै ठूलो अपेक्षासहित सत्तामा आएका स्टार्मरको पछिल्लो समय भने लोकप्रियता घट्दो छ ।



सरकारमा आएपछि गरेका केही नीतिगत यू–टर्न, आर्थिक चुनौती र जनअपेक्षा पूरा गर्न नसकेका कारण उनको छवि कमजोर बन्दै गएको हो ।

सामान्यतया स्थानीय तहका चुनावहरू सडक, सरसफाइ र स्थानीय सेवामा केन्द्रित हुने गर्छन् । तर यसपटकको चुनाव भने राष्ट्रिय राजनीतिसँग सीधा जोडिएको छ । यो पटकको स्थानीय चुनावमा मतदाताले सरकारप्रतिको आफ्नो सन्तुष्टि वा असन्तुष्टि व्यक्त गर्नेछन् ।

देशभरि करिब ५ हजार ६६ स्थानीय पदका लागि मतदान हुँदैछ । तर सबैको ध्यान भने लेबर पार्टीको सम्भावित नतिजामा केन्द्रित छ ।

विश्लेषकहरूका अनुसार लेबरले उल्लेख्य सिट गुमाउन सक्ने जोखिम देखिएको छ । यदि त्यस्तो भयो भने, यसले स्टार्मरको नेतृत्वमाथि गम्भीर प्रश्न उठाउन सक्छ ।

अर्कोतर्फ, रिफर्म यूके जस्ता दक्षिणपन्थी र ग्रीन जस्ता वैकल्पिक दलहरूको उभारले बेलायतको परम्परागत दुई-दलीय राजनीतिक संरचना कमजोर बनाउँदै लगेको छ ।

यसले मत विभाजन बढाएर समग्र राजनीतिक अवस्था विभाजित बन्दै गएको संकेत दिएको छ । यस्तो अवस्थामा, कुनै एक पार्टीको स्पष्ट वर्चस्व कमजोर बन्दै जाँदा आगामी राष्ट्रिय राजनीतिमा अस्थिरता बढ्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ ।

त्यसैले यदि लेबर पार्टीले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन भने त्यसको असर केवल स्थानीय तहमा सीमित रहने छैन । यसले स्टार्मरको नेतृत्व, विश्वसनीयता र सरकारको आगामी दिशामाथि पनि प्रत्यक्ष प्रभाव पार्ने निश्चित छ ।