नेपाल ‘ए’ को लगातार दोस्रो जित, अमेरिकामाथि तीन विकेटको रोमाञ्चक विजय

  • प्रकाशित मिति : २०८३ बैशाख २५, शुक्रबार
  • नेपाल टेल संवाददाता

आईसीसी क्रिकेट विश्वकप लिग–२ को आगामी शृंखलाअघि खेलिएको अभ्यास खेलमा नेपाल ‘ए’ टोलीले लगातार दोस्रो प्रभावशाली जित हासिल गरेको छ। शुक्रबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल ‘ए’ ले अमेरिकालाई तीन विकेटले पराजित गर्दै उत्कृष्ट लय कायम राखेको हो।

नेपाल ‘ए’ ले यसअघि बिहीबार स्कटल्यान्डलाई ४५ रनले हराएको थियो। दुवै खेलमा नेपालले आफूभन्दा बलिया मानिएका टोलीलाई पराजित गर्दै आत्मविश्वासपूर्ण प्रदर्शन गरेको छ। नेपालको सिनियर टोलीले आगामी साता स्कटल्यान्ड र अमेरिकासँग घरेलु मैदानमा आईसीसी विश्वकप लिग–२ शृंखला खेल्दैछ।



शुक्रबारको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २६२ रन बनाएको थियो। अमेरिकाका लागि ओपनर समित पटेलले शानदार शतकीय इनिङ्स खेले। उनले १०८ बलमा पाँच छक्का र १० चौकाको मद्दतमा ११६ रन बनाए।

तल्लोक्रमका जसदीप सिंहले अविजित ३३ तथा हरमित सिंहले अविजित २५ रन जोडे। अन्य अमेरिकी ब्याट्सम्यान भने नेपाली बलिङ आक्रमणसामु टिक्न सकेनन्।

नेपालका लागि पवन सर्राफले दुई विकेट लिए भने विपिन खत्री, साहब आलम, बसिर अहमद, शेर मल्ल, रासिद खान र नारायण जोशीले समान एक–एक विकेट हात पारे।

२६३ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ४९.१ ओभरमा सात विकेट गुमाउँदै रोमाञ्चक जित निकाल्यो। नेपालको जितमा मायान यादवले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले। पाँचौँ नम्बरमा ब्याटिङ गर्न आएका उनले ८० बलमा दुई छक्का र चार चौकासहित ७२ रन बनाए।

सन्दीप जोराले ५२ बलमा चार चौकासहित ३६ रन जोडे भने कुशल मल्लले ४९ बलमा ३३ रन बनाए। ओपनर अनिलकुमार साहले २७ तथा तृतराज दासले २३ रनको योगदान दिए।

देव खनाल १७ रनमा आउट हुँदा बसिर अहमदले १८ रन बनाए। अन्तिम समयमा पवन सर्राफले आक्रामक ब्याटिङ गर्दै अविजित २४ रन जोडे। उनले केवल १५ बलमा दुई छक्का र एक चौका प्रहार गरे। दीपक डुम्रे दुई रनमा अविजित रहे। नेपालले अतिरिक्त रूपमा ११ रन प्राप्त गर्‍यो।

विशेषगरी ४८औँ ओभरमा पवन सर्राफले लगातार दुई छक्का र एक चौका प्रहार गर्दै नेपाललाई जिततर्फ उन्मुख गरेका थिए। उक्त ओभरमा नेपालले २१ रन जोडेको थियो। अमेरिकाका मिलिन्द कुमारले दुई विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।