आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गर्दै शानदार जित निकालेको छ । १ सय ९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर सहज रूपमा पूरा गर्यो ।
नेपालको जितमा इशन पाण्डे र कप्तान रोहित पौडेल चम्किए । इशनले आफ्नो ओडीआई करिअरकै पहिलो अर्धशतक बनाउँदै ५५ रन जोडे भने रोहितले ५९ रनको उत्कृष्ट इनिङ्स खेले । यो रोहितको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १२औँ अर्धशतक हो ।
अघिल्लो खेलमा शतक प्रहार गरेका ओपनर कुशल भुर्तेल आज २८ रनमै आउट भए । आशिफ शेखले २९ रनको योगदान दिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको स्कटल्यान्ड ३९.१ ओभरमा १ सय ९४ रनमै समेटिएको थियो । ब्रान्डन म्याकमुलेनले ४४ बलमा ७३ रनको आक्रामक इनिङ्स खेले । माइकल इङ्लिसले ५१ रन बनाए भने जर्ज मुन्सेले २१ र मार्क वाटले २० रन जोडे ।
स्कटल्यान्डलाई सानो योगफलमा रोक्न नेपालका स्पिनरहरू घातक बने । ललित राजवंशीले ८ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए भने सन्दीप लामिछानेले १० ओभरमा ३ विकेट हात पारे ।
यसक्रममा सन्दीपले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने विश्व कीर्तिमान कायम गरे । उनले अस्ट्रेलियाका मिचेल स्टार्कको रेकर्ड तोडेका हुन् ।
नेपालको यात्रा अझै चुनौतिपूर्ण
लिग–२ मा नेपाल अझै पनि सेफ जोनमा पुगेको छैन । लिगको ढाँचा अनुसार शीर्ष ६ भित्र अटाउने टिमले एकदिवसीय मान्यता जोगाउने छन् भने शीर्ष ४ ले २०२७ मा हुने विश्वकप क्वालिफायरमा सिधै स्थान बनाउने छन् ।
तल्लो ४ मा रहेका टोलीले भने च्यालेन्ज लिगका टप टोलीहरूसँग क्वालिफायर प्ले–अफ खेल्नुपर्छ । प्ले–अफबाट शीर्ष ४ टोली क्वालिफायरमा प्रवेश गर्छन् ।
क्वालिफायर (१० टोली)बाट शीर्ष ४ ले २०२७ क्रिकेट विश्वकप (दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबिया) मा स्थान बनाउँछन् । नेपालले अब शीर्ष ४ भित्र अटाउन बाँकी म्याचहरुमा उत्कृष्ट प्रदर्शनसहित अधिकांश जित निकाल्नुपर्ने हुन्छ ।
नेपालले अब ९ वटा मात्र म्याच खेल्न बाँकी छ । आफूले राम्रो खेलेर मात्र पनि हुँदैन, अन्य टिमहरुको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।