ब्राजिलियन मिडफिल्डर कोउटिन्हो बायर्नबाट बार्सिलोना फर्कने

  • प्रकाशित मिति : २०७७ जेष्ठ ११, आईतवार
  • nepaltale.com

ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्हो सिजनको अन्त्यसँगै जर्मन क्लब बायर्न म्युनिखबाट क्याटलान क्लब बार्सिलोना फर्कने भएका छन् ।

सिजनको सुरुवातमा लोनमा बायर्न पुगेका कोउटिन्होलाई बायर्नले खरिद नगर्ने निर्णय लिएको हो । बार्सिलोनाले मे तेस्रो सातासम्म १ सय २० मिलियन युरो खर्च गरे बायर्नले खरिद गर्न सक्ने विकल्प प्रस्तुत गरेको थियो । लिभरपुलबाट बार्सिलोना पुगेका कोउटिन्होले त्यसयता अपेक्षित प्रदर्शन गर्न सकेका छैनन् ।

बायर्नले १ सय २० मिलियन तिर्नुपर्ने प्रस्तावलाई अबलम्बन नगरेको बायर्नका अध्यक्ष कार्ल हाइन्ज रुमिनेजेले बताए । ‘हामीसँग विकल्प थियो तर त्यसलाई अबलम्बन गरेनौं । हामीले अझैपनि अर्को सिजन कस्तो टोली बनाउने भन्ने अन्तिम योजना तयार पारेका छैनौं । यदि हामीलाई उनको आवश्यकता पर्यो भने बार्सिलोनासँग नयाँ सम्झौता गर्न पनि सकिनेछ,’ रुमिनेजेले भने ।

बार्सिलोनाका प्रशिक्षक किके सेटिनले भने कोउटिन्हो बार्सिलोना फर्कंदा टोलीलाई फाइदा हुने तर्क राखेका थिए । उनले प्रि(सिजनमा कोउटिन्होको प्रदर्शन हेरेर उनलाई अर्को सिजन कहाँ खेलाउने भन्ने तय गर्ने बताएका थिए ।

हाल चोटका कारण मैदानबाहिर रहेका कोउटिन्होले जारी सिजन बायर्नका लागि ३२ खेल खेलेका छन् । उनले यसक्रममा ९ गोल गर्नुका साथै ८ असिस्ट दिएका छन् ।