एजेन्सी । भारत र चीनको विवादास्पद सीमा क्षेत्र लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी)मा फेरि तनाव उत्पन्न हुने संकेत देखिएको छ । उक्त क्षेत्रमा चीनले ५ हजार सेना तैनाथ गरेको आरोप लगाउँदै भारतले पनि आफ्नो सेनाको संख्या बढाउन सुरु गरेको छ । यसै महिनामा २ देशका सेनाबीच तीन पटक झडप भएको थियो । पछिल्लो हप्ता दुबै देशका सैन्य कमाण्डरहरुबीच छलफल भई उक्त मुद्धालाई सुल्झाउने प्रयास गरेका थिए ।
समाचार एजेन्सी एएनआईका अनुसार भारतीय सेनाको ८१ र ११४ ब्रिगेड सेना तैनाथ क्षेत्र नजिकै चिनियाँ सेना पनि देखिएका छन् । चिनियाँ सेना नियन्त्रण रेखा नजिकै रहेको पेनगोंग ताल नजिकै पुगेको जनाइएको छ र उनीहरु थुप्रै सवारी साधनमा निर्माणका सामाग्रीसहित आएको बताइएको छ ।
चिनियाँ सेना गल्वान नाला क्षेत्रमा बसिरहेको भारतीय सेनाको पोष्ट के एम १२० भन्दा १५ किमी नजिक आइपुगेको जनाइएको छ । त्यहाँ चिनियाँ सेनाहरु पाल टाँगेर बसेका छन् । चिनियाँ सेनाले त्यहाँ बन्कर निर्माण गर्न लागेको र त्यसका लागि धेरै उपकरणहरुसमेत प्रयोग गरिरहेको भारतीय सेनाको आरोप छ । यही क्षेत्रमा भारतीय सेनाले पेट्रोलिङ पोष्ट १४ को नजिकै पुल निर्माण गरिरहेको छ । चिनियाँ सेनाले यसको विरोध गर्दै आएको छ । भारतीय सेनाको पोष्ट केएम १२० मा २ सय ५० जवान तैनाथ रहेका छन् । तर अहिले भारतले त्यहाँ थप सैनिक फोर्स थप्ने तयारी गरिरहेको छ ।
यसअघि दुई देशका सेनाबीच एक महिनामै ३ पटक झडप भएको थियो । मे ५ र ९ मा क्रमसः पूर्वी लद्दाख र उत्तरी सिक्किममा झडप भएको थियो भने मे ९ मै लद्दाखमा अर्को तनाव भएको थियो । केही दिनअघि चिनियाँ सेनाले भारतीय सेनाका जवानहरुलाई गस्ती गएका बेला बन्धक बनाएका खबर बाहिर आएको थियो । यद्यपि, भारतीय सेनाले यसलाई इन्कार गरिरहेको छ ।-दैनिक भाष्कर