भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका दुई नेपाली अझै बेपत्ता

  • प्रकाशित मिति : २०७७ जेष्ठ १४, बुधबार
  • nepaltale.com

राष्ट्रिय मानव अधिकार आयोगले भारतीय सुरक्षाकर्मीबाट पक्राउ गरी बेपत्ता पारिएका सीमा क्षेत्रका दुई नेपाली नागरिकको अवस्था वर्षौंदेखि अज्ञात रहेको पाइएको जनाएको छ।

आयोगले स्थलगत अध्ययन गरेर दुवै नेपालीको तत्काल खोजी गरी स्थिति सार्वजनिक गर्न सरकारलाई निर्देशनसमेत दिएको छ। आयोगका सदस्यद्वय मोहना अन्सारी र गोविन्द शर्मा पौड्यालले २०७२ देखि ०७६ सम्म चीन र भारतसित सीमा जोडिएका २८ जिल्लाका नागरिकको अवस्था अध्ययन गरी प्रतिवेदन तयार गरेका हुन् । आयोगले प्रतिवेदन सोमबार अनुमोदन गरिसकेको छ ।

प्रतिवेदनका अनुसार भारतीय सुरक्षाकर्मीले बर्दियाका हर्कबहादुर शाहीलाई २०६७ फागुन र राममिलन लोधलाई २०६९ फागुनमा नियन्त्रणमा लिएका थिए। दुवैको अवस्था अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । आयोगले भारतसित राजनीतिक तथा कूटनीतिक तहमा सार्थक वार्ता गरी दुवै जनाको स्थिति तत्काल सार्वजनिक गर्न लगाउन र पीडित परिवारलाई भारतीय सरकारबाट उचित राहत दिलाउन सरकारलाई निर्देशन दिएको छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।