चिनियाँ सेनासँग पूर्वी लद्दाख क्षेत्रमा गए राति भएको झडपपछि ३४ भारतीय सैनिक बेपत्ता भएका छन् ।
भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै बेलायती सञ्चार माध्यम टेलिग्राफले समाचार प्रकाशित गरेको छ । भारतीय अधिकारीहरुले बेपत्ता रहेका सैनिकहरु मृत्यु भएको हुनसक्ने वा चिनियाँ सेनाको नियन्त्रण परेको हुनसक्ने बताएका छन् । तर, भारतले यस विषयमा अहिलेसम्म औपचारिक रुपमा कुनै जानकारी गराएको छैन ।
यसअघि भारतीय सेनाले गलवान उपत्यका गए राति चिनियाँ र भारतीय सेनाबीच झडप भएको र त्यस क्रममा भारतका एक कर्णेल र दुई जवानको मृत्यु भएको पुष्टि गरिसकेको छ ।
चिनियाँ र भारतीय सेनाबीच धकेलाधकेल हुँदा आफ्ना सैनिक भीरबाट खसेको भारतीय अधिकारीको दावी छ । लद्दाखका विभिन्न क्षेत्रमा भारत र चीनबीच पछिल्लो एक महिनादेखि सीमा विवाद चल्दै आएको छ ।