गलवान भिडन्तमा हताहत हुनेमा कोही नेपाली गोर्खा सैनिक नभएको पुष्टि

  • प्रकाशित मिति : २०७७ असार ३, बुधबार
  • नेपाल टेल संवाददाता

लद्दाखको पूर्वी क्षेत्रमा रहेको विवादास्पद सीमा क्षेत्र गलवान उपत्यकामा भारत र चीनका सेनाबिच भएको भिडन्तमा ज्यान गुमाउनेमा भारतीय सेनाको गोरखा रेजिमेन्ट अन्तर्गत कार्यरत कोही पनि नेपाली नरहेको आधिकारिक स्रोतले जानकारी दिएको छ ।

सोमबार राति भएको सो भिडन्तमा भारतीय सेनाका एक कमाण्डर र १९ जवानको ज्यान गएको हो । ज्यान गुमाउनेहरु १६–बिहार रेजिमेन्टका सैनिक रहेको जनाइएको छ । नेपालीहरु भारतीय सेनामा कार्यरत रहे पनि सोमबार राति भएको भिडन्तमा गोरखा रेजिमेन्ट अन्तर्गत कार्यरत नेपालीहरु नरहेको जनाइएको हो ।



भारत र चीनबिच विवादित सीमा क्षेत्रलाई लिएर पछिल्लो ४५ वर्षमा पहिलोपटक मानवीय क्षति हुने गरी भिडन्त भएको हो । सीमा क्षेत्रमा सोमबार राति भएको चिनियाँ सेनासँगको भिडन्तमा आफ्ना एक उच्च अधिकारीसहित २० जनाको ज्यान गएको भारतीय सेनाले जानकारी दिएको हो ।