सबै विद्यालय साउनदेखि खुल्ने, यस्तो छ निर्णय

  • प्रकाशित मिति : २०७७ असार ६, शनिबार
  • nepaltale.com

काठमाडौंको पूर्वीभेगस्थित कागेश्वरी मनोहरा नगरपालिकाभित्रका सबै विद्यालय साउनदेखि खुल्ने भएको छ । नगरपालिकाको शिक्षा समितिको शुक्रबारको बैठकले लकडाउनको कारण बन्द रहेका सबै (सामुदायिक र संस्थागत) विद्यालय साउन १ गतेदेखि संचालन गर्ने निर्णय गरेको हो ।

सबै विद्यालय दुई सिफ्ट गरेर संचालन गर्ने निर्णय भएको मेयर कृष्णहरि थपाले जानकारी गराउनु भएको छ । ‘सबै विद्यालय विद्यार्थी संख्याको आधारमा दैनिक २ सिफ्टमा संचालन गर्ने निर्णय भएको छ’, उहाँले भन्नुभयो, ‘६ कक्षा देखि १० सम्म बिहान ७ देखि १० बजेसम्म र नर्सरीदेखि कक्षा ५ सम्म बिहान ११ देखि २ बजेसम्म कक्षा संचालन गर्न सकिने अथवा १ दिन कक्षा संचालन र १ दिन कक्षा संचालन गर्ने गरी पनि बिंध्यालय संचालन गर्न सकिने निर्णय भएको छ ।’

विद्यालय खोल्नुअघि सबै विद्यालयका शिक्षण, कर्मचारी, कार्यालय सहयोगी र सवारी चालकको कोरोना भाइरस परीक्षा गरिने भएको छ, ‘ कक्षा संचालन हुनुअघि सबैले विद्यालय हातामा सरसफाई गर्नुपर्ने छ’, उहाँले भन्नुभयो, ‘नगरभित्र संचालनमा रहेका सामुदायिक र संस्थागत विद्यालयका सम्पूर्ण शिक्षक, कर्मचारी, कार्यालय सहयोगी र सवारी चालक सबैको नगरपालिकाको स्वास्थ्य शाखाले पीसीआर गरिदिने छ । ’

विद्यालयले शुल्क बनाउन नपाउने भएका छन् । शुल्क अघिल्लो वर्षकै दरमा लिनु पर्ने र लकडाउन अवधिमामा अभिभावकसँग सल्लाह र समन्वय गरी ५० प्रतिशत मात्र शुल्क लिनुपर्ने निर्णय भएको मेयर थापाले जानकारी दिनुभयो ।