गोरखाको रुई गाउँ जब चीनको भयो !

  • प्रकाशित मिति : २०७७ असार १०, बुधबार
  • nepaltale.com

उत्तरी गोरखाको रुई गाउँ नेपालको हो। तर रुई गाउँ ६० वर्ष देखि चीनको स्वशासित क्षेत्र तिब्बतको अधीनमा छ।

‘गोरखा जिल्लाको रुई गाउँ नेपालको थियो, खोइ कसरी हो चीनप्रशासित तिब्बतको अधीनमा पुग्यो।’ एक स्थानिउले बताए । ७२ घर भएका रुई गाउँ सरकारी हेलचेक्र्याइँका कारण २०१७ देखि चीनको स्वशासित क्षेत्र तिब्बतको अधीनमा रहेको जनाइएको छ । नेपालको सरकारी अधिकारीहरु ‘प्रलोभनमा परेर’ सीमा स्तम्भ सार्न अनुमति दिए पनि नेपालको नक्सामा यो समेटिएकै छ।

पराईको शासन खप्न नसक्ने स्थानीय त्यहाँबाट भागेर साम्दोमा आई बसे। उनीहरूले ६० वर्षसम्म आफ्नो थातथलो बिर्सिएका छैनन्। त्यसो त रुईवासी पनि समय–समयमा यता आउँछन्, साम्दोवासी पनि रुईतिर गइरहन्छन्। साम्दोका बासिन्दा रुईभन्दा दुई दिन टाढा पर्ने खाङ्सार बजारसम्म सामान किन्न पुग्छन्। त्यताका बासिन्दा पनि साम्दो, सामा गाउँ, ल्हो, प्रोक, बिहीसम्म सामान बेच्दै आइपुग्छन्। दुवै गाउँका बासिन्दासँग सीमा वारपार गर्ने पुर्जी हुने साम्दोका बेलबहादुर गुरुङ बताउँछन्।

‘साम्दोका बासिन्दासँग उताको बोर्डर पास हुन्छ। रुईवासीजस्तै उताको अस्पतालमा उपचार गर्ने सहुलियत पनि हुन्छ’, ३३ वर्षसम्म शिक्षण पेसा गरेर बसेका गुरुङ भन्छन्, ‘उताका व्यापारी पनि घोडा, याक, चौरीमा सामान बोकाएर ल्हो, बिही, प्रोकसम्म व्यापार गर्न आइपुग्छन्।’ उनका अनुसार यी दुई गाउँका बासिन्दा लजुङ भञ्ज्याङको छोटो बाटो आउजाउ गर्छन्।

एउटै गाउँ छुट्टिएर दुईवटा हुनुपर्दा साम्दोवासीको चित्त दुखाइ छ। आफ्नो पैतृक थलो तिब्बतको अधीनमा हुँदा कसैको पनि चित्त नबुझेको स्थानीय निमा दोर्जे लामा बताउँछन्। ‘पहिले त हामी एउटै हो नि’, चुमनुब्री गाउँपालिका–१ का जनप्रतिनिधिसमेत रहेका लामा भन्छन्, ‘तर, पछि चाइनाको भयो। नेपाल सरकारले आफ्नै गाउँ किन तिब्बतलाई दियो ? किन दाबी गरेन ? हामीले केही बुझ्न सकेनौं।’

उनका अनुसार रुईको जमिन असाध्यै उर्वर छ। त्यसकारण पनि साम्दोवासीले रुई मन पराउँछन्। ‘त्यहाँ सबैभन्दा ठूलो एउटा गुम्बा छ। फा तेगा गुम्बालाई बाउ गुम्बा भन्छन्। ल्होको बुनाक्छा गुम्बालाई छोरा गुम्बा भन्छन् र बिहीको मामानिखाङ गुम्बालाई आमा गुम्बा भन्छन्’, उनी भन्छन्, ‘डोल्पा, मुस्ताङ, मनाङदेखिका लामा गुरुहरू त्यहाँ अध्ययन गर्न आउँछन्। सबैभन्दा ठूलो अध्ययन केन्द्रजस्तै हो त्यो गुम्बा तर नेपालले गुमायो।’ रुई भोटभित्र चारवटा टोल छन्। सबैमा गरेर १ सय ७० घरधुरी रहेको उनी सुनाउँछन्।

सरकारले वास्ता नगरेपछि चुपचाप सहनुपरेको स्थानीयको गुनासो छ। ‘यति ठूलो गाउँ छ, यति ठूलो गुम्बा छ। यताभन्दा राम्रो खेती हुने जमिन छ तर सरकारले वास्तै गर्दैन। हामीले के गर्न सक्छौं र ? ’, उनी भन्छन्, ‘पहिलेदेखि मुद्दा बनाइरहेको भए अहिले ब्युँताएर पाउन सकिन्थ्यो। अब ६० वर्षभन्दा बढी भइसक्यो। यति बेला मुद्दा उठाएर के गर्ने ? चाइना सरकारसँग दुस्मनी गर्नु मात्रै हुन्छ।’

रुईभोटका बासिन्दाले जग्गाको कर तिरेको अभिलेख मालपोत कार्यालय, गोरखामा सुरक्षित छ। बिर्तासम्बन्धी नम्बरीको ढड्डा नं. १ मा रुईभोट, सामागाउँलगायतका बासिन्दाले राजस्व तिरेको उल्लेख रहेको कार्यालयका सहायक कर्मचारी ठाकुर खनाल बताउँछन्। ‘अठार सय खोलादेखि रुईभोटसम्मका बासिन्दाले तिरो तिरेको अभिलेख कार्यालयको तामेल शाखामा हेर्न सकिन्छ’, उनले भने।

गोरखाको उत्तरी भेगमा रुई र तेघा भन्ने दुईवटा गाउँ नेपालकै रहेको इतिहासकार तथा सीमासम्बन्धी जानकार रमेश ढुंगेलले बताए। ‘रुई र तेका दुईवटै गाउँ २०१७ सालसम्म नेपालकै हुन्’, उनले भने, ‘कुनै लडाइँमा हारेर गुमाएको पनि होइन। कुनै सर्त र सम्झौतामा फँसेर तिब्बततिर परेको पनि होइन। सीमा स्तम्भ राख्ने बेला हेलचेक्र्याइँले ती दुवै गाउँ नेपालले गुमायो।’