चीनलाई तह लगाउन अमेरिका, अष्ट्रेलिया, जापान र भारत मिल्दै

  • प्रकाशित मिति : २०७७ असार १३, शनिबार
  • nepaltale.com

काठमाडौं । एसिया क्षेत्रमा चिनियाँ प्रभाव रोक्न अमेरिकाले आक्रमक भएर लाग्ने संकेत गरेको छ।

शुक्रबार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले युरोपमा अमेरिकाले आफ्ना सेना घटाउन लागेको जानकारी दिएका थिए।

आफ्ना सैन्य शक्ति एसिया क्षेत्रमा केन्द्रित गर्ने अमेरिकी ट्रम्प प्रशासनको घोषणाप्रति भारत खुशी देखिन्छ।

पूर्वी लद्दाखमा चिनियाँसेनासँगको भिडन्तपछि खासै अन्तराष्ट्रिय सहानुभूती नपाएको भारतको पक्षमा पछिल्लो समय अमेरिका खुलेरै आएको हो।

हुन त चिनियाँ पक्षले सीमा क्षेत्रमा भारतीय सेनाको उक्साहट अमेरिकी डिजाइनमा भएको आरोप लगाउँदै सबैभन्दा खराब अवस्थाका लागि तयार रहेको बताउँदै आएका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार अमेरिकाले अब लडाकु पाइलटहरूलाई संयुक्त प्रशिक्षण दिने भएको छ।

भारती पत्रिका इकोनेमिक टाइम्सले अमेरिकाले भारत, जापान र अष्ट्रेलियाका लडाकू विमानका पाइलटलाई तालिम दिन लागेको जनाएको छ।

उक्त समाचार अनुसार अमेरिकाले एसिया-प्रशान्त क्षेत्रमा चीनको आक्रामकता रोक्न यस्ता धेरै कदमहरू चाल्न लागिरहेको छ।

सीमा विवादलाई लिएर भारत र चीनका सेनाबीच हिंसात्मक झडप भएपछि अमेरिकाले ध्यान केन्द्रित गरेको छ।

रिपोर्ट अनुसार अमेरिकाले ‘द नेशनल डिफेन्स अथोराइजेसन एक्ट’ नामक विधेयक बिहीबार सिनेटमा पेस गरेको छ। त्यसमा भारत, जापान र अष्ट्रेलियालाई युएस प्रशान्त क्षेत्र गुआममा लडाकु जेटको तालिम दिइने उल्लेख छ। जापान हालैमात्र अमेरिकी सैन्य रणनीतिको साझेदार बनेको थियो।

बिहीबार जापानका रक्षामन्त्री तारो कोनोले टोकियोमा पत्रकारलाई चीन र उत्तर कोरियाबाट भूमीमा मात्र खतरा नभई साइबरस्पेसमा पनि रहेको बताएका थिए।

यसबारे सचेत हुनु आवश्यक रहेको उनको भनाई थियो।

भारत, जापान, अष्ट्रेलिया र अमेरिकाले एशिया प्रशान्त क्षेत्रमा चीन विरुद्ध आक्रामकताका साथ मिलेर काम गर्ने सहमति गरिसकेका छन्।