काठमाडौँ । राष्ट्रिय फुटबल खेलाडी जर्ज प्रिन्स कार्की नेपाली सेनाको सह सेनानी (क्याप्टेन) मा बढुवा भएका छन्।
उनलाई सोमबार नम्बर २ राजदल गण सुर्खेतका गणपति राजेशप्रसाद खत्रीले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।२०७२ सालमा सेनामा आबद्ध भएका प्रिन्सले सफलता मिलेपछि गर्व महशुस भएको बताए।
काभ्रे, धुलिखेल नगरपालिका शंखुमा जन्मिएका प्रिन्सले सेनामा प्रवेश गर्नुअघि २०६९ मा सी डिभिजन छनोट हुने गृह बनेपा ब्वाइज क्लब (बिबिसी) खेलेका थिए। अर्को वर्ष फ्रेन्ड्स क्लबका लागि ए डिभिजन खेलेका प्रिन्स त्यसपछि सेनामा भर्ना भएका थिए।
२५ वर्षिय प्रिन्स मंसिरमा सेनाको सकेन्ड लेफ्टिनेन्टमा पास आउट भए। आफ्नो ब्याचको टपर रहेका उनले एक वर्ष भारतमा रहेर प्रशिक्षण पनि गरे। भारतीय सेनाको एकेडेमीमा रहँदा उनले फुटबल प्रशिक्षण लिने मौका पाए।