काठमाडौँ । ३ महिना लामो लकडाउनपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले (भोलि) असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेको छ।
लामो लकडाउनले यातायात व्यवसायी आर्थिक सङ्कटमा परेको महासंघले सार्वजनिक यातावात सञ्चालन गर्ने घोषणा गरेको हो।
यातायात व्यवसायी संकटमा परेपनि सरकारले राहत उपलब्ध नगराएको, यातायात खुला गरेपछि सार्वजनिक सवारीलाई मात्र रोकेको, मजदुरप्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै महासंघले आइतबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने अडान लिएको छ।
सञ्चालनका लागि सरकारसँग माग गर्दा अहिलेसम्म छलफल भन्दै अल्मलाएको र कुनै निर्णय नगरेकाले व्यवसायी आफैँ सञ्चालन गर्ने टुङ्गोमा पुगेको महासंघले जनाएको छ।
यातायात क्षेत्रमा आश्रित परिवार भोकै रहने अस्वस्था छ, बैङ्कको ऋणको त कुरै नगरौँ, गाडी चलेकै छन् तर सावर्जनिक मात्र रोकियो, निजी गाडीले यात्रु ओसारेका छन्, त्यसैले हामीले २१ गतेपछि आफैँ निर्णय गरेर चलाउँछौँ, महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले भने ।
उपत्यकाका ट्याक्सी व्यवसायीले पनि असार २१ गतेसम्मका लागि आन्दोलन स्थगित गरेका छन् । तीन महिनाभन्दा बढी समय बन्दाबन्दी भएपछि ट्याक्सी व्यवसायी बैङ्क किस्ता तिर्न र दैनिक गुजारा चलाउन समेत समस्या भएको भन्दै ट्याक्सी लिएर सडकमा आएका थिए।